फिल्म 'तिनीहरूः एलिफेन्ट्स इन द फग' आज शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ।
विश्वका ठूला फिल्म फेस्टिभलमा पुगेर चर्चा र अवार्डसमेत जितेको यो फिल्म फ्राइडे रिलिजअन्तर्गत घरेलु दर्शकमाझ आएको हो।
बुधबार आयोजित नेपाल प्रिमियरमा फिल्मले करिब पाँच मिनेट लामो 'स्ट्यान्डिङ ओभेसन' पाएको थियो।
कान्स फिल्म फेस्टिभलमा जुरी च्वाइस अवार्ड जितेको यो फिल्म विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत प्रदर्शन भइसकेको छ। अविनाश विक्रम शाहको निर्देशन रहेको फिल्मको कथा अविनाश र सन्दीप बादलको हो।
जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्ने फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरूङ, आकांक्षा कार्कीलगायतको अभिनय छ।
यो पनिः यस्तो छ अन्तर्राष्ट्रिय मञ्चमा धूम मच्चाएको नेपाली फिल्मको यात्रा
बिहीबार जोन्टा क्लब अफ काठमाडौंको आयोजनामा फिल्मको विशेष फन्ड रेजर स्क्रिनिङसमेत सम्पन्न भएको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्रको राहत तथा पुनस्र्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनमा कलाकार, फिल्मकर्मी तथा दर्शकको सहभागिता थियो।
प्रदर्शनपछि दर्शकहरूले सीमान्तकृत तथा पछाडि पारिएका समुदायका कथा र आवाजलाई सार्वजनिक संवादमा ल्याउन सिनेमाको महत्वपूर्ण भूमिका रहने धारणा राख्दै यस्ता कथामा आधारित फिल्मलाई निरन्तर साथ र समर्थन गर्न आग्रह गरेका थिए।
नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा फिल्म बनेको हो। नेपालबाट निर्मातामा अनुप पौडेल रहेका छन्।
'तिनीहरूः एलिफेन्ट्स इन द फग' नेपालभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो। यसको रनटाइम १ घण्टा ४८ मिनेट छ।
शुक्रबारदेखि नेपालमा 'मिर्जापुरः द मुभि' पनि रिलिज भएको छ। लोकप्रिय भारतीय वेब सिरिज 'मिर्जापुर'को कथालाई ठूलो पर्दामा विस्तार गर्दै यो फिल्म निर्माण भएको हो।