नेपाली फिल्म 'एलिफेन्ट्स इन द फग' ले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा एकपछि अर्को उपलब्धि हासिल गरिरहेको छ।
निर्देशक अविनाशविक्रम शाहको फिल्मले कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्दै नेपाली फिल्मको इतिहासमा महत्वपूर्ण उपलब्धि थप्यो। न्युजिल्यान्डमा आयोजित फिल्म महोत्सवमा पनि फिल्मले 'अडियन्स अवार्ड' र 'बेस्ट फिल्म' को सम्मान पाएको छ।
कान्स 'अन सर्टेन रिगार्ड' विधामा जुरी पुरस्कार जितेको यो फिल्म उक्त विधामा छनोट हुने पहिलो नेपाली फिचर फिल्मसमेत हो।
कान्स अवार्ड ग्रहण गर्दाको क्षणलाई निर्माण टिमले नेपाली फिल्मका लागि विशेष उपलब्धिका रूपमा लिएको छ। फिल्मको नाम घोषणा हुँदा र नेपाललाई प्रतिनिधित्व गर्दै मञ्चमा पुग्दाको क्षणलाई उनीहरूले अविस्मरणीय मानेका छन्।
कान्सको मञ्चमा 'नेपाल' उच्चारण हुँदा दर्शकले ताली बजाएको क्षणले निर्माण टिमलाई थप भावुक बनाएको थियो। उनीहरूका लागि त्यो ताली फिल्म वा टिमका लागि मात्रै नभएर देशका लागि पनि थियो।
'देशभन्दा ठूलो केही छैन,' फिल्मकी कलाकार दीपिका यादवले कान्सको अनुभव सुनाउँदै भनिन्।
कान्समा फिल्मको यात्रा सफल भएपछि निर्माण टोलीले नेपाल फर्किएर प्रदर्शनको तयारी थालेको हो। फिल्म भदौ १९ गतेदेखि नेपालका हलमा प्रदर्शन हुँदैछ।
निर्देशक शाहको फिल्म निर्माणको यात्रा पनि लामो छ। उनले करिब १७–१८ वर्षदेखि फिल्म निर्माणमा संघर्ष गरिरहेका छन्। 'एलिफेन्ट्स इन द फग' उनको पहिलो फिचर फिल्म हो।
निर्देशक शाहका लागि फिल्म निर्माण व्यावसायिक उद्देश्यमा मात्र सीमित छैन। नेपाली समुदायका कथा विश्वमाझ पुर्याउने र नेपाली समाजका मौलिक कथालाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउने उद्देश्यले फिल्म बनाइएको उनको भनाइ छ।
फिल्म निर्माणका क्रममा पनि टिमले विभिन्न चुनौती सामना गरेको थियो। तराईको जंगल छेउको बस्तीमा खिचिएका दृश्यमा आवश्यक कुहिरोको वातावरण तयार गर्नेदेखि अभिनय प्रशिक्षण नलिएका कलाकारसँग काम गर्नेसम्मका चुनौती थिए।
लामो समयको संघर्षपछि तयार भएको फिल्म अन्तर्राष्ट्रिय मञ्चमा पुगेको र त्यहाँबाट सम्मानसमेत प्राप्त गरेकोमा निर्माण टिम उत्साहित छ।
'एलिफेन्ट्स इन द फग' उनीहरूका लागि एउटा फिल्मको सफलता मात्र होइन, नेपाली कथा र कलाकारलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने माध्यम पनि बनेको छ।
फिल्मले नेपालको तराई क्षेत्रमा बसोबास गर्ने किन्नर समुदायको कथा प्रस्तुत गर्छ। गाउँ वरिपरि घुम्ने जंगली हात्ती, समुदायभित्रको सम्बन्ध र व्यक्तिगत स्वतन्त्रताको चाहनाबीचको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।
अब कान्स र न्युजिल्यान्डमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको फिल्मले नेपाली दर्शकमाझ कस्तो प्रतिक्रिया पाउँछ भन्ने उत्सुकता छ।
हेर्नुस् फिल्मका निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकारद्वय पुष्पा थिङ लामा र दीपिका यादवको कुराकानी।