पूर्व मिस वर्ल्ड तथा बलिउड अभिनेत्री मानुषी छिल्लरले फिल्म क्षेत्रमा महिलामाथि हुने भेदभावको आलोचना गरेकी छन्।
उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै लेखेकी छन्, 'विरोधी मानसिकता भएकी महिलालाई सफलताको श्रेय दिनुभन्दा पुरूषको संरक्षण दिन धेरै सजिलो हुन्छ। मैले सधैं मुर्खतापूर्ण कमेन्टलाई नजरअन्दाज गरेकी छु। जसको असल दुनियाँमा कुनै महत्व छैन। तर सधैं मनोरञ्जन क्षेत्रमा महिलालाई कुनै तरिकाको अनादर र समस्या झेल्नु परेको छ। म शिक्षित माहोलमा हुर्किएकी हुँ। जहाँ लैंगिक भेदभाव थिएन। तर म यस मानसिकतालाई चिन्छु। सफल भएपछि पुरूष मेहनती र प्रतिभाशाली हुन्छन् भने महिलाले अवसरवादी, गोल्ड डिगर जस्ता शब्द सुन्नुपर्छ।'
मानुषीले सन् २०१७ मा मिस वर्ल्डको ताज जितेकी थिइन्। त्यसपछि उनले अक्षय कुमारसँग ऐतिहासिक ड्रामा फिल्म 'सम्राट पृथ्वीराज' बाट बलिउडमा डेब्यू गरेकी थिइन्। त्यसपछि उनले फिल्म 'द ग्रेट इन्डियन फ्यामेली' र 'बडे मियाँ छोटे मियाँ' मा अभिनय गरेकी थिइन्। यी फिल्म बक्स अफिसमा असफल सावित भए। अब उनी जोन अब्राहमसँग फिल्म 'तेहरान' मा देखिँदैछिन्।