भारतीय फिल्म 'रामायण'ले विश्वव्यापी बक्स अफिसमा अल्लू अर्जुन अभिनीत 'पुष्पा २'को कमाइलाई उछिनेको छ। यससँगै 'रामायण' सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा उक्लिएको छ।
बक्स अफिससम्बन्धी वेबसाइट स्याकनिल्कका अनुसार प्रदर्शनको २१ दिनमा फिल्मले विश्वभरबाट १ हजार ७ सय ५५ करोड ६० लाख भारू कमाएको छ। यसअघि चौथो स्थानमा रहेको 'पुष्पा २'को विश्वव्यापी कमाइ १ हजार ७ सय ४२ करोड १० लाख भारू थियो।
विश्वव्यापी कमाइतर्फ ‘रामायण’भन्दा अगाडि अहिले 'दंगल', 'धुरन्धर २' र 'बाहुबली २' छन्। स्याकनिल्कको तथ्यांकअनुसार 'दंगल'ले २ हजार ७० करोड ३० लाख, 'धुरन्धर २'ले १ हजार ८ सय १३ करोड ३९ लाख र 'बाहुबली २'ले १ हजार ७ सय ८८ करोड ६ लाख भारू कमाएका छन्।
त्यस्तै, 'रामायण'ले नेपालमा पनि नयाँ रेकर्ड बनाएको छ। फिल्मले नेपालमा २६ करोड ५० लाख रूपैयाँभन्दा बढी कमाइसकेको छ। यससँगै यसले अल्लू अर्जुनको 'पुष्पा २'लाई पछि पार्दै नेपालमा सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको रेकर्ड बनाएको छ। 'पुष्पा २'ले नेपालमा २६ करोड ४६ लाख रूपैयाँ कमाएको थियो।
नेपालमा 'रामायण'को कमाइ अझै बढ्ने सम्भावना छ, किनकि फिल्म प्रदर्शनरत छ। यसअघि नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको सूचीमा दक्षिण भारतीय फिल्मको वर्चस्व रहँदै आएको थियो। 'रामायण'ले त्यो सूचीमा नयाँ रेकर्ड बनाएको हो।
फिल्मको निर्देशन नितेश तिवारीले गरेका हुन्। यसमा रणवीर कपूर, साई पल्लवी, यश, रवि दुबे, सनी देओललगायत कलाकारको अभिनय छ।