भारतीय कमेडियन कपिल शर्माको नेटफ्लिक्समा आइरहेको कार्यक्रम 'द ग्रेट इन्डियन कपिल शो' बन्द हुने भएको छ।
अहिले शोको तेस्रो सिजन चलिरहेको छ। आउँदो सेप्टेम्बर २० मा यसको अन्तिम भाग प्रसारण हुने हिन्दुस्तान टाइम्सले जनाएको छ।
अन्तिम भागका पाहुना अक्षय कुमार हुनेछन्।
यही सिजनमार्फत् नवजोत सिंह सिद्धू पुनः कपिलको कार्यक्रममा फर्किएका थिए।
कार्यक्रममा सिद्धूसँगै अर्चना पुरन सिंह पनि जज छिन्। सात वर्षअघि सिद्धू कपिल शर्मा शोबाट बाहिरिएपछि अर्चना नै जज थिइन्।
नेटफ्लिक्समा चलिरहेको 'द ग्रेट इन्डियन कपिल शो' को तेस्रो सिजनको पहिलो भागदेखि भने दुवै जज देखिएका हुन्।
अब चौथो सिजनको भने टुंगो लागिसकेको छैन।
सिजनको पहिलो भागमा बलिउड अभिनेता सलमान खान अतिथिका रूपमा आएका थिए। कार्यक्रममा सुनील ग्रोवर, कृष्णा अभिषेक, किकु शार्दा, राजीव ठाकुर लगायतको प्रस्तुति छ।
२०७५ सालमा कश्मिरको पुलवामा भएको आतंकी हमलाका बारेमा दिएको टिप्पणीका कारण तत्कालीन पन्जाबका मन्त्री समेत रहेका सिद्धू विवादमा तानिएका थिए। उनको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि 'द कपिल शर्मा शो' बाट उनलाई निकालिएको थियो।
हिन्दुस्तान टाइम्सका अनुसार सिद्धूले पुलवामा हमलाबारे सञ्चारमाध्यममा भनेका थिए- यो हमलाका लागि कुनै देश वा कुनै व्यक्तिलाई दोषी भन्नु गलत हो। आतंककारीको कुनै जात र धर्म हुँदैन। सबै ठाउँमा राम्रा, नराम्रा र अति नै नराम्रा मान्छे हुन्छन्। सबै देशमा हुन्छन्। अति नराम्रालाई सजाय दिनुपर्छ।
यो विषयमा सिद्धूको टिप्पणी पाकिस्तानीप्रति नरम भएको भन्दै फ्यानहरूले उनलाई कपिल शोबाट निकाल्न माग गरेका थिए। ट्विटरमा उनलाई हटाउनेबारे ट्रेन्ड नै चलेपछि सोनी च्यानलले यो निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन्। फ्यानहरूले सिद्धूलाई राखिरहे शो नै नहेर्ने समेत भनेका थिए।
त्यो बेला कपिल शर्मा शो अभिनेता सलमान खान प्रोडक्सनको निर्माणमा प्रसारण भइरहेको थियो। सिद्धू निकालिएपछि अर्चना पुरन सिंह उनको ठाउँमा आएकी थिइन्।
बीचमा केही समय कपिल शर्माको आफ्नै विवादका कारण शो बन्द भएको थियो।
नेटफ्लिक्समा द ग्रेट इन्डियन कपिल शोबाट ६ वर्षपछि सुनील ग्रोवरले कमब्याक गरेका थिए। सुनीललाई कपिलले एकपटक जहाजमा दुर्व्यवहार गरेका थिए। यो विवाद बढ्दै गएपछि सुनीलले शो छाडेका थिए।
यसरी कपिलको कार्यक्रममा पुराना सदस्यहरूको पुनरागमन हुँदै गएको छ।
शोलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।