'इन्डियन आइडल' सिजन १२ का विजेता गायक पवनदीप राजन सन् २०२५ को मे महिनामा भारतको उत्तर प्रदेशमा गम्भीर सडक दुर्घटनामा परे। त्यसको करिब सात महिनापछि उनले भनायक दुर्घटनाबारे पहिलोपटक सार्वजनिक रूपमा बोलेका छन्। एक पडकास्टमा उपस्थित हुँदै उनले घटनाबारे बताएका हुन्।
पवनदीपका अनुसार गत ५ मेको बिहान ३ बजेतिर मुरादाबादनजिकै दुर्घटना भएको थियो। कार्यक्रमका लागि दिल्ली जाँदै गर्दा उनको कार रोकिराखेको ट्रकसँग ठोक्किएको थियो।
सलीम-सुलेमानको पडकास्टमा दुर्घटनाको क्षण सम्झिँदै पवनदीपले भने, 'कारमा आगो लागिसकेको थियो र म भित्रै थिएँ। पछि प्रहरी आएर मलाई बाहिर निकाले। मेरो होस खुल्दा म कार बाहिर थिएँ।'
दुर्घटनामा पवनदीपका दुवै खुट्टा र दाहिने हात भाँचिनुका साथै टाउकोमा गम्भीर चोट लागेको थियो। लामो समय ओछ्यानमै बिताएका उनले अहिले बिस्तारै हिँड्न र गितार बजाउन थालेको बताएका छन्।
आफ्नो स्वास्थ्यबारे जानकारी दिँदै उनले भने, 'सुरूको एक महिना म हलचल गर्न पनि सक्दिनथें। अहिले अलिअलि हिँड्न सक्दा खुसी लागेको छ। यस्तो घटनापछि सकारात्मक रहनु र अघि बढ्नु नै महत्त्वपूर्ण हुँदो रहेछ।'