दक्षिण भारतीय सुपरस्टार थलापति विजय फिल्म 'जन नायकन' मार्फत छिट्टै दर्शकमाझ आउँदै छन्। यो फिल्म निर्माण घोषणादेखि नै चर्चामा छ।
सन् २०२६ को बहुप्रतीक्षित मानिएको 'जन नायकन' आगामी जनवरी ९ देखि प्रदर्शनमा आउने तय छ।
हालै यो एक्सन-थ्रिलर फिल्मको कथावस्तु र अवधिबारे खुलासा भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार 'जन नायक' को कुल अवधि (रनटाइम) १ सय ८६ मिनेट रहेको बताइएको छ। लामो अवधिको भए पनि फिल्मले दर्शकलाई बाँधेर राख्ने दाबी निर्माण पक्षको छ। रनटाइमबारे निर्माताबाट आधिकारिक घोषणा हुन भने बाँकी छ।
एच विनोथ निर्देशित 'जन नायकन' मा सत्ता, शक्ति र न्यायबीचको द्वन्द्वलाई मुख्य विषय बनाइएको जनाइएको छ। भिंकभिल्लाको रिपोर्ट अनुसार फिल्मको विषयवस्तु दुई शक्तिशाली पात्रहरूको वरिपरी घुम्नेछ। फिल्ममा थलापति विजयले एक पूर्व प्रहरी अधिकारीको भूमिका निर्वाह गर्ने जनाइएको छ।
कथाअनुसार विगतमा भएको एउटा सानो घटनाले समयसँगै ठूलो टकरावको रूप लिन्छ। र, दुई शक्तिशाली पात्रबीच गहिरो द्वन्द्व सुरू हुन्छ। यही द्वन्द्वले कथालाई अघि बढाउने जनाइएको छ।
'जन नायकन' मा विजयसँगै बबी देओल, पूजा हेगडे, ममिता बैजू, गौतम नारायण, प्रकाश राज, प्रियामणि लगायतका कलाकारहरूको अभिनय छ।
विजय थलापतिले यसअघि नै राजनीतिक दल घोषणा गरिसकेका छन्। सोहीकारण 'जन नायकन' को चर्चा विजयको अन्तिम फिल्मका रूपमा समेत भइरहेको छ।
डिसेम्बर ३१ मा फिल्मको ट्रेलर रिलिज गर्ने तयारी रहेको बताइएको छ।