दक्षिण भारतीय सुपरस्टार थलापति विजय राजनीतिक एक्सन फिल्ममार्फत छिट्टै दर्शकमाझ आउँदैछन्।
विजय अभिनीत तमिल फिल्म 'जन नायगन' जनवरी ९ (पुस २५) मा रिलिज हुँदैछ।
निर्माण घोषणादेखि चर्चामा रहेको यो फिल्मको हिन्दी संस्करण 'जन नेता' नाममा प्रदर्शन हुनेछ। फिल्मको कथामा राजनीतिक शक्ति संघर्ष, षड्यन्त्र र साहसिक रणनीतिहरू देखाइनेछ।
थलापति विजय शीर्ष भूमिकामा देखिनेछन् भने बलिउड अभिनेता बबी देओल बिरोधी पात्र (खलपात्र) को भूमिकामा दर्शकमाझ आउँदैछन्। पर्दामा विजय र बबीको भिडन्त दर्शकलाई रोचक लाग्ने अनुमान गरिएको छ।
यी दुई शक्तिशाली पात्रको रूपमा देखिने जनाइएको छ। कथाअनुसार विगतमा भएको एउटा सानो घटनाले समयसँगै ठूलो टकरावको रूप लिन्छ। र, दुई शक्तिशाली पात्रबीच गहिरो द्वन्द्व सुरू हुन्छ। यही द्वन्द्वले कथालाई अघि बढाउने जनाइएको छ। फिल्मको उच्च रोमाञ्चक दृश्य, राजनीतिक थ्रिल र स्टार कास्टको संयोजनले दर्शकलाई ठूलो मनोरञ्जन दिने विश्वास निर्माण पक्षको छ।
निर्माताहरूले भनेका छन्, 'हामीले जन नायगनलाई दर्शकको लागि अविस्मरणीय अनुभव बनाउने प्रयास गरेका छौं।'
फिल्ममा विजय र बबीसहित पूजा हेगडे, ममिता बैजू, गौतम बासुदेव मेनन, नारायण, प्रियामणि लगायतका कलाकारहरूको अभिनय छ।
विजय थलापतिले यसअघि नै राजनीतिक दल घोषणा गरिसकेका छन्। सोहीकारण 'जन नायगन' को चर्चा विजयको अन्तिम फिल्मका रूपमा समेत भइरहेको छ।
नेपालमा समेत यो फिल्म प्रदर्शनमा आउने तयारी छ। क्युएफएक्स लगायतका ठूला मल्टिप्लेक्सले आफ्नो वेब साइटमा यसलाई 'कमिङ सून' को सूचीमा राखिसकेका छन्।