बलिउडको युद्ध-ड्रामामा आधारित फिल्म 'बोर्डर २' राम्रो व्यापार गरिरहेको छ।
प्रदर्शनको सुरूआती दिनदेखि नै बक्स अफिसमा बलियो उपस्थिति देखाएको फिल्मले ११ औं दिनसम्म आइपुग्दा विश्वव्यापी बक्स अफिसमा ३८३ भारूभन्दा बढी कमाइ गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। २३ जनवरीमा रिलिज फिल्ममा सनी देओल, वरूण धवन, दिलजित दोसाँझ र अहान शेट्टी लगायतको मुख्य अभिनय छ।
फिल्मले गणतन्त्र दिवसको अवसरलाई उपयोग गर्दै पहिलो हप्तामा भारतमै २२४ करोड भारू नेट कमाइ गरेको थियो। दोस्रो हप्तामा प्रवेश गरेसँगै फिल्मको दैनिक आम्दानीमा भने केही गिरावट देखिएको छ। ११ औँ दिन अर्थात् दोस्रो सोमबार फिल्मले करिब ५.७५ करोड भारू कमाइ गरेको रिपोर्ट सार्वजनिक भएको छ।
भारतमा हालसम्म फिल्मको कुल नेट कमाइ करिब २८२ करोड भारू पुगेको छ भने अन्तर्राष्ट्रिय बजारबाट १०० करोड भारूभन्दा बढी आम्दानी भएको अनुमान गरिएको छ। यससँगै फिल्मको विश्वव्यापी कलेक्सन ३८३ करोड रूपैयाँ नाघेको हो।
सन् १९९७ मा आएको चर्चित फिल्म 'बोर्डर' को सिक्वेलका रूपमा निर्माण गरिएको ‘बोर्डर २’ लाई अनुराग सिंहले निर्देशन गरेका हुन्। फिल्म सन् १९७१ को भारत–पाकिस्तान युद्धको पृष्ठभूमिमा आधारित छ। दोस्रो हप्तामा आम्दानी केही घटे पनि 'बोर्डर २' ले सन् २०२६ कै उच्च कमाइ गर्ने फिल्ममध्ये आफूलाई स्थापित गरिसकेको छ।
भूषण कुमार, कृष्ण कुमार, जे.पी. दत्ता र निधि दत्ताद्वारा निर्मित ‘बोर्डर २’ मा मोना सिंह, सोनम बाजवा, मेधा राणा र अन्या सिंह पनि मुख्य भूमिकामा छन्। नेपालमा पनि फिल्मले राम्रो कमाइ गरेको छ। गत शनिबारसम्म नेपालमा यो फिल्मले २ करोड २१ लाख रूपैयाँभन्दा बढी व्यापार गरेको छ।