बलिउडको चर्चित हास्य फिल्म 'भागम भाग' को सिक्वेलमा ठूलो परिवर्तन आउने भएको छ।
सन् २००६ मा रिलिज भएको 'भागम भाग' बक्स अफिसमा हिट भएको थियो। झन्डै २ दशकपछि उक्त फिल्मको सिक्वेल निर्माणको तयारी छ।
यद्यपि, सिक्वेलमा एक मुख्य अभिनेता र निर्देशक परिवर्तन गरिएको छ। भारतीय संचारमाध्यमका अनुसार पहिलो भागमा मुख्य भूमिकामा रहेका अभिनेता गोविन्दा दोस्रो भागमा हुने छैनन्। उनको स्थानमा अभिनेता मनोज बाजपेयी देखिने भएका छन्। उनको प्रवेशले फिल्मको हास्य शैलीमा नयाँपन थप्ने अपेक्षा गरिएको छ।
अक्षय कुमार र परेश रावल भने दोस्रो भागमा पुनः आफ्नो भूमिकामा फर्किनेछन्। 'गुन्टुर करम' र 'गोट' मा देखा परिसकेकी मीनाक्षी चौधरी यस फिल्ममा अक्षय कुमारको अपोजिटमा हुनेछिन्। मनोज बाजपेयीको अपोजिटमा को हुने भन्ने बारेमा छलफल भइरहेको जनाइएको छ।
'भागम भाग २' का लागि निर्देशन पक्षमा पनि परिवर्तन गरिएको छ। पहिलो भागका निर्देशक प्रियदर्शन यस पटक फिल्ममा संलग्न हुने छैनन्। उनी आफ्नो व्यस्त तालिकाका कारण प्रोजेक्टमा संलग्न हुन नसकेको बताइएको छ। अब फिल्मको निर्देशन राज शाण्डिल्यले गर्नेछन्। 'भागम भाग' ३२ करोड भारूको बजेटमा बनेको थियो। यसले विश्वव्यापी ६७.८३ करोड भारू कमाएको थियो।
फिल्ममा अक्षय कुमार, गोविन्द, परेश रावल, राजपाल यादवका साथमा लारा दत्ता, ज्याकी श्राफ, अरबाज खान र शक्ति कपूर जस्ता कलाकारहरू पनि थिए।
'भागम भाग २' छायांकनको काम अक्षय कुमारले आफ्ना अन्य फिल्मका काम सकेपछि सुरू गर्ने योजना रहेको जनाइएको छ।