भारतीय अभिनेता अक्षय कुमारको हरर कमेडी फिल्म 'भूत बंगला' को रिलिज मिति फेरि परिवर्तन गरिएको छ।
प्रियदर्शन निर्देशित फिल्म यसअघि १५ मे (बैशाख ३१) देखि सिनेमा हलमा आउने तालिका थियो। तर अब यो फिल्म १० अप्रिल (चैत २७) मा रिलिज हुने भएको हो।
अक्षय कुमारले सामाजिक सञ्जालमार्फत एक भिडिओ सेयर गर्दै प्रदर्शन मिति परिवर्तन गरिएको जानकारी दिएका छन्। निर्माताहरूले फिल्मको प्रदर्शन मिति अघि सार्नुको कारण सिनेमाघरमा भिडभाड कम हुने समयमा प्रदर्शन गर्नु र बक्स अफिसमा अरू फिल्मसँग जुध्नबाट बच्नु रहेको बताएका छन्। यसले दर्शकहरूको उपस्थितिलाई पनि सहज बनाउने निर्माताको विश्वास छ।
डर र हाँसोको मिश्रण प्रस्तुत गर्ने 'भूत बंगला' मा अक्षयसहित तबु, परेश रावल, राजपाल यादव, जिशु सेनगुप्ता, असरानी र वामिका गब्बीलगायत कलाकारहरूको अभिनय छ। ‘भूत बंगला’ को निर्माण शोभा कपूर, एकता आर कपूरको बालाजी टेलिफिल्म्स र अक्षय कुमारको प्रोडक्सन हाउस, केप अफ गुड फिल्म्सद्वारा गरिएको हो। फरा शेख र वेदान्त बालीले फिल्मको सह–निर्माण गरेका हुन्।
'भूत बंगला' ले दर्शकका लागि मनोरञ्जन र डरको मिश्रण लिएर आउने विश्वास गरिएको छ।