चर्चित बलिउड अभिनेता राजपाल यादवले चेक बाउन्स मुद्दामा दिल्लीको तिहाड जेलसमक्ष आत्मसमर्पण गरेका छन्। अदालतको आदेशअनुसार उनले समयमै रकम फिर्ता गर्न नसकेका कारण गत बिहीबार आत्मसमर्पण गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार आत्मसमर्पणको केही क्षणअघि यादवले प्रहरी र अधिकारीहरूका अगाडि भावुक हुँदै प्रतिक्रिया दिएका थिए।
उनले भनेका थिए, ‘सर, के गरूँ? मसँग पैसा छैन। अरू उपाय पनि देखिंदैन। यहाँ हामी सबै एक्लै छौं।’
सन् २०१० मा राजपालले आफ्नो निर्देशनमा बनेको फिल्म 'अता पता लापता' निर्माणका लागि पाँच करोड भारू ऋण लिएका थिए। फिल्म बक्स अफिसमा असफल भएपछि राजपाललाई आर्थिक संकटमा धकेल्यो। त्यसबेला उनले ऋण तिर्न जारी गरेका चेकहरू बाउन्स भए।
चेक बाउन्स मुद्दा लामो समयसम्म अदालतमा विचाराधीन रहँदा सन् २०१८ मा मजिस्ट्रेट अदालतले राजपाल यादव र उनकी श्रीमतीलाई ऐनको धारा १३८ अन्तर्गत दोषी ठहर गर्दै छ महिनाको जेल सजाय सुनाएको थियो।
राजपालले फैसलालाई चुनौती दिँदै धेरै पुनरावेदनहरू मार्फत राहत खोजे पनि, मुद्दा वर्षौंसम्म चल्यो। सो अवधिमा बक्यौता रकम बढेर लगभग ९ करोड भारू पुगेको बताइएको छ।
पछिल्लो समय दिल्ली उच्च अदालतले उनलाई पटक-पटक समय दिएको भए पनि उनी समयमै रकम तिर्न सकेनन्। अदालतले अन्ततः आत्मसमर्पणको आदेश जारी गर्दै अतिरिक्त समयको निवेदन अस्वीकृत गर्यो। यसै निर्णयको पालना गर्दै यादवले तिहाड जेलसमक्ष आत्मसमर्पण गरेका हुन्।
भारतीय मिडियामा प्रकाशित रिपोर्टअनुसार, यादवले आत्मसमर्पणअघि साथीभाइ र फिल्म उद्योगका व्यक्तिहरूबाट सहयोग नपाएको र आर्थिक संकटले एक्लोपन महसुस भएको बताएका थिए।