बलिउड अभिनेता राजपाल यादव तत्काल रिहा नहुने भएका छन्।
दिल्ली उच्च अदालतले उनको जमानतसम्बन्धी निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेसँगै उनी हाललाई जेलमै रहने भएका हुन्।
दशक पुरानो चेक बाउन्ससम्बन्धी मुद्दामा राजपाल यादव तिहाड जेलमा छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले राजपालले अदालतसमक्ष गरेका प्रतिबद्धता पूरा नगरेको उल्लेख गर्दै रिहा गर्न अस्वीकार गरेको हो।
सुनुवाइका क्रममा अदालतले राजपालले यसअघि अदालतसमक्ष गरेका प्रतिबद्धता पूरा नगरेको विषय उठाउँदै कडा टिप्पणी गरेको थियो।
अदालतले 'तपाईं जेल जानुभएको अदालतको आदेशका कारण होइन, आफ्नो प्रतिबद्धता पूरा नगरेको कारण हो' भन्ने टिप्पणी गरेको बताइएको छ। उनीमाथि ठूलो परिमाणको ऋण नतिरेको आरोप छ।
उनका कानुनी प्रतिनिधिले जमानतका लागि निवेदन दर्ता गरे पनि अदालतले थप सुनुवाइका लागि समय आवश्यक भएको जनाउँदै मुद्दा सोमबारसम्मका लागि सारेको हो। अब मुद्दा सोमबार सुनुवाइ हुने भएसँगै राजपालले केही दिन जेलमै बिताउनुपर्ने भएको छ।
राजपालको यो मुद्दा सन् २०१० मा सुरू भएको बताइएको छ। त्यसबेला राजपालले आफ्नो निर्देशनमा बनेको फिल्म 'अता पता लापता' फिल्मका लागि लिएको ऋण नफर्काएपछि सम्बन्धित कम्पनीले मुद्दा दायर गरेको थियो। त्यसपछि सन् २०१८ मा मजिस्ट्रेरियल अदालतले राजपाललाई दोषी ठहर गर्दै छ महिनाको कैद सजाय सुनाएको थियो।
राजपालले फैसलालाई चुनौती दिँदै धेरै पुनरावेदनहरू मार्फत राहत खोजे पनि मुद्दा वर्षौंसम्म चल्यो। सो अवधिमा बक्यौता रकम बढेर लगभग ९ करोड भारू पुगेको बताइएको छ।
पछिल्लो समय उच्च अदालतले केही सर्तसहित सजाय स्थगित गरेको भए पनि राजपालले तोकिएको शर्त पूरा नगरेको बताइएको छ।
अदालतले निर्धारित समयभित्र आत्मसमर्पण गर्न दिएको आदेशपछि उनी तिहाड जेल पुगेका थिए। आत्मसमर्पणको केही क्षणअघि यादवले प्रहरी र अधिकारीहरूका अगाडि भावुक हुँदै प्रतिक्रिया दिएका थिए। उनले भनेका थिए, 'सर, के गरूँ? मसँग पैसा छैन। अरू उपाय पनि देखिंदैन। यहाँ हामी सबै एक्लै छौं।'
राजपाललाई थुप्रै फिल्मकर्मीहरूले सहयोगको प्रस्ताव समेत गरेका छन्।