फिल्म 'धुरन्धर २' को छायांकनका क्रममा सुरक्षा मापदण्ड उल्लंघन भएको आरोप लागेको छ।
बारम्बार नियम उल्लंघन भएको भन्दै भारतको बृहन्मुम्बई महानगरपालिकाले निर्देशक आदित्य धरको निर्माण संस्थालाई कालोसूचीमा राख्ने तयारी गरेको छ।
महानगरपालिकाले 'बी ६२ स्टुडियोस्' लाई भविष्यमा मुम्बई क्षेत्रमा छायांकन अनुमति नदिने प्रस्ताव तयार पारेको हो।
हिन्तुस्तान टाइम्सका अनुसार 'धुरन्धरः द रिभेन्ज' को सेटमा आवश्यक अनुमति नलिई भवनको छतमा छायांकन गरिएको, स्वीकृतिबिना बिजुली उत्पादन गर्ने सवारी साधन प्रयोग गरिएको तथा अग्नि सुरक्षासम्बन्धी मापदण्ड पालना नगरिएको आरोप लागेको हो।
छायांकनका क्रममा आगो प्रयोग गरिएका सामग्रीसमेत सुरक्षाविहीन अवस्थामा राखिएको आरोप लगाइएको छ। महानगरपालिकाले यसलाई गम्भीर लापरबाहीका रूपमा लिँदै कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
महानगरपालिकाले निर्माण संस्थालाई एक लाख रुपैयाँ जरिवाना गर्ने सिफारिस गरेको छ भने सुरक्षाका लागि राखिएको धरौटी रकमसमेत जफत गर्ने तयारी गरेको बताइएको छ। साथै सम्बन्धित आवेदनकर्ताहरूलाई समेत भविष्यमा छायांकन अनुमति नदिने विषयमा विचार भइरहेको उल्लेख गरिएको छ।
गत डिसेम्बर ५ मा रिलिज रणवीर सिंह अभिनीत 'धुरन्धर' ले बक्स अफिसमा ठूलो कमाइ गरेको छ। त्यसको सफलतापछि यसको सिक्वेलका रूपमा निर्माण भइरहेको 'धुरन्धरः द रिभेन्ज' मार्च १६ मा प्रदर्शनमा आउने तालिका तय छ।