बलिउडका वरिष्ठ पटकथा लेखक सलीम खान स्वास्थ्य समस्याका कारण मुम्बईस्थित लीलावती अस्पताल भर्ना भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ९० वर्षीय सलीमलाई मंगलबार उपचारका लागि अस्पताल लगिएको हो। हाल उनी चिकित्सकहरूको निगरानीमा उपचाररत रहेका छन्।
उनका परिवारका सदस्यहरू पनि अस्पताल पुगेका छन्। अभिनेता सलमान खान पिता भेट्न अस्पताल पुगेका थिए। त्यसैगरी छोरी अलविरा खान अग्निहोत्री र ज्वाइँ आयुष शर्मा पनि अस्पतालमा उपस्थित रहेको जनाइएको छ।
उनलाई अस्पताल भर्ना गर्नुको स्पष्ट कारण सार्वजनिक गरिएको छैन। परिवारका तर्फबाट पनि स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण बाहिर आएको छैन। चिकित्सकहरूले आवश्यक परीक्षण र उपचार गरिरहेको बताइएको छ।
हिन्दी चलचित्र क्षेत्रमा सलीम खानको योगदान उल्लेखनीय मानिन्छ। उनले 'शोले', 'जंजीर' र 'दीवार' जस्ता चर्चित फिल्महरूको कथा तथा पटकथा लेखन गरेका छन्।
उनको लेखनले सत्तरीको दशकमा हिन्दी फिल्म क्षेत्रमा नयाँ धार स्थापित गरेको मानिन्छ।