बलिउड अभिनेता राजपाल यादवले आफूलाई सहानुभूतिभन्दा समय आवश्यक रहेको बताएका छन्।
९ करोड भारु चेक बाउन्स मुद्दामा तिहाड जेलबाट रिहा भएपछि उनी आफ्नो पुर्ख्यौली गाउँमा आफ्नी भान्जीको विवाहमा भाग लिन व्यस्त छन्।
जेलमा करिब १२ दिन बिताएपछि मंगलबार बाहिरिएका उनले कठिन समयमा साथ दिने समर्थक र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, 'म जस्तो काममा डुबेर बस्ने मानिसका लागि सहानुभूति होइन्, समय आवश्यक हुन्छ।' उनले थपे, 'म कसैको पैसा नतिर्ने वा दायित्वबाट भाग्ने सोचमा छैन। मलाई केवल समय दिनुहोस्, म सबै कुरा स्पष्ट रूपमा पूरा गर्नेछु।'
राजपालले अब आफू आफ्नै काममा फर्किन चाहेको बताए। उनले फिल्म उद्योगसँग कामको अपिल समेत गरेका छन्।
'समयले सबै कुरा प्रमाणित गर्छ। म फेरि काममा फर्किन चाहन्छु', उनले भने।
राजपालविरूद्धको मुद्दामा दिल्ली उच्च अदालतले मार्च १८ सम्मका लागि अन्तरिम जमानत दिएको छ। रिहाइ प्रक्रियाअन्तर्गत सम्बन्धित पक्षको खातामा १ करोड ५० लाख भारू जम्मा गरेपछि र अदालतले निर्देशन दिएअनुसार आवश्यक औपचारिकता पूरा गरेपछि राजपालले यो राहत पाएका छन्।
यो मुद्दा सन् २०१० को हो। त्यसबेला राजपालले आफ्नो निर्देशकीय डेब्यू फिल्म 'अता पता लापता' को लागि ऋण लिएका थिए। फिल्म फ्लप भयो र उनले पैसा तिर्न सकेनन्, जसले गर्दा लामो कानुनी प्रक्रिया चल्यो। जसको परिणामस्वरूप हालै ६ महिनाको हिरासत आदेश दिइएको थियो। फेब्रुअरी ५ मा उनले तिहाड जेलमा आत्मसमर्पण गरेका थिए।