बलिउड अभिनेता सलमान खानका बुवा तथा चर्चित पटकथा लेखक सलिम खान एक महिनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनलाई मंगलबार मुम्बईस्थित लिलावती अस्पतालबाट डिस्चार्ज गरिएको हो। ९० वर्षीय उनलाई गत फेब्रुअरी १७ मा अस्पताल भर्ना गरिएको थियो।
सलिमलाई सामान्य प्रकारको ब्रेन हेमरेज (मस्तिष्कमा रक्तस्राव) भएपछि आईसीयूमा राखेर उपचार गरिएको थियो। उपचारका क्रममा चिकित्सकहरूले उनलाई केही समय भेन्टिलेटरमा राखेका थिए। साथै, रक्तनलीको अवस्था जाँच्न 'डिजिटल सब्ट्र्याक्शन एन्जियोग्राफी' नामक विशेष परीक्षण पनि गरिएको थियो।
एक महिनासम्म अस्पतालमा राखेर निगरानीपछि उनको स्वास्थ्य अवस्थामा उल्लखनीय सुधार आएको चिकित्सकहरूले बताएका छन्। उपचार अवधिभर छोराहरू सलमान खान, अरबाज खान र सोहेल खानलगायत परिवारका सदस्यहरू बारम्बार अस्पताल जान्थे।
शाहरूख खान र आमिर खानले पनि सलिम खानलाई भेटेका थिए।
सलिम खान भारतीय फिल्म उद्योगका प्रतिष्ठित लेखकमध्ये एक मानिन्छन्।