बलिउड अभिनेता सलमान खान र दक्षिण भारतीय अभिनेत्री नयनतारा पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन्।
यी दुई कलाकारले निर्देशक वंशी पैदिपल्लीको आगामी उच्च बजेटको एक्सन–ड्रामामा सहकार्य गर्न लागेका हुन्।
शीर्षक तय भइनसकेको यो फिल्म दिल राजुद्वारा निर्मित हुनेछ। बलिउड व्यापार विश्लेषक तरण आदर्शले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलमा यसबारे जानकारी दिएका छन्।
फिल्मलाई 'हाई-अक्टेन एक्सन इन्टरटेनर' भनिएको छ, जसमा बलियो भावना र प्यान–इन्डिया अपिल रहने बताइएको छ।
फिल्मको छायांकन सन् २०२६ को अप्रिलदेखि सुरू गर्ने तयारी गरिएको छ। त्यस्तै यसको प्रदर्शन ईद २०२७ लाई लक्षित गरिएको छ।
रिपोर्टका अनुसार फिल्ममा ठूलो मात्रामा एक्शन दृश्यहरू प्रस्तुत गरिनेछ। जुन दृश्यात्मक रूपमा आकर्षक सिनेमाई अनुभव प्रदान गर्ने लक्ष्य राखेर बनाइएको बताइएको छ।
नयनताराका लागि यो दोस्रो बलिउड फिल्म हुनेछ। उनले यसअघि शाहरूख खानको 'जवान' मार्फत बलिउडमा डेब्यु गरेकी थिइन्।