बहुप्रतिक्षित बलिउड फिल्म 'रामायण' को टिजर सार्वजनिक गरिएको छ।
बिहीबार सार्वजनिक टिजरमा अभिनेता रणवीर कपूर भगवान् रामको भूमिकामा देखिएका छन्। नितेश तिवारीको निर्देशनमा बनेको यो फिल्मको टिजर मुम्बईमा एक भव्य कार्यक्रमकाबीच लन्च गरिएको हो।
टिजरमा रणवीरको राजसी लुकले दर्शकलाई निकै प्रभावित बनाएको छ। विशेषगरी उनको अयोध्या प्रवेश, वनवासका दृश्यहरू तथा युद्ध शैलीका झलकहरूले फिल्मको भव्यता झल्काएको छ। टिजरमा रामको जीवनका महत्वपूर्ण पक्षहरू-कर्तव्य, त्याग र धर्मलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ। रामको चरित्रलाई ‘मर्यादा पुरूषोत्तम’ का रूपमा प्रस्तुत गरिएको देखिन्छ।
यो फिल्ममा यश (रावण), साई पल्लवी (सीता), सनी देओल (हनुमान) र रवि दुबे (लक्ष्मण) को भूमिकामा छन्।
टिजर सार्जननिक भएसँगै सामाजिक सञ्जालमा दर्शकहरूले रणवीरको अभिनय र फिल्मको भव्यताको प्रशंसा गरेका छन्। कतिपयले यसलाई रोमाञ्चक र अविश्वसनीय भन्दै प्रतिक्रिया दिएका छन्।
रामायण भारतीय सिनेमाको इतिहासमा सबभन्दा महत्वाकांक्षी फिल्महरूमध्ये एक मानिएको छ। दुई भागमा निर्माण गरिएको फिल्मको संयुक्त बजेट ४ हजार करोड भारू रहेको बताइएको छ।
'रामायण' को पहिलो भाग सन् २०२६ को दीपावली आसपास र दोस्रो भाग सन् २०२७ मा आउने तयारी छ।