बलिउड अभिनेता राजपाल यादव विरूद्धको चेक बाउन्स मुद्दामा भारतको दिल्ली उच्च अदालतले अन्तिम फैसला सुरक्षित राखेको छ।
बिहीबार सुनुवाइका क्रममा दुई पक्षबीच पटक-पटक सहमतिको प्रयास भए पनि कुनै सहमति हुन नसकेको भारतीय संचारमाध्यमले जनाएका छन्।
सुनुवाइका क्रममा न्यायाधीशले राजपालको व्यवहारप्रति असन्तुष्टि जनाउँदै अदालतको समय बर्बाद गरेको बताएका थिए। अदालतले उनी रकम तिर्न तयार छन् भने मुद्दा लम्ब्याउनुको अर्थ नरहेको बताएको थियो।
मुद्दाको सुनुवाइका क्रममा राजपाल भावुक समेत भएका थिए। उनले आफू आर्थिक रूपमा समस्यामा परेको बताउँदै अदालतको निर्णय स्वीकार गर्ने बताएका छन्। तर रकम भुक्तानीबारे उनको भनाइ र वकिलको दाबीबीच विरोधाभास देखिएपछि अदालतले असन्तुष्टि जनाएको थियो।
अदालतले उनलाई बाँकी रकम तिर्न थप समय दिन अस्वीकार गर्दै अब थप ढिलाइ नगर्ने संकेत दिएको छ। न्यायाधीशले 'अब थप समय दिइने छैन' भन्दै फैसला सुरक्षित राख्ने निर्णय सुनाएका थिए।
यो मुद्दा करिब ९ करोड भारूको चेक बाउन्ससँग सम्बन्धित हो। यो मुद्दामा राजपाल यसअघि जेलसमेत गएका थिए।
यो मुद्दामा अन्तिम निर्णय अदालतले पछि सुनाउने बताइएको छ।