दक्षिण भारतीय सुपरस्टार थलापति विजय अभिनीत फिल्म 'जन नायकन' रिलिज हुनुअघि नै अनलाइन लिक भएको छ।
फिल्मको केही महत्वपूर्ण दृश्यहरू बिहीबारदेखि सामाजिक भाइरल भएको भारतीय संचारमाध्यमले जनाएका छन्। विशेषगरी विजयको इन्ट्रो सिन, टाइटल कार्ड तथा गीतका केही भाग सामाजिक सञ्जालमा भाइरल भएका हुन्।
उक्त सामाग्री कसरी बाहिरियो भन्ने विषयमा आधिकारिक पुष्टि नभए पनि सम्पादन चरणबाट लिक भएको अनुमान गरिएको पिंकभिल्लाले जनाएको छ।
यो घटनाले फिल्मको भविष्यबारे फ्यानहरूमा चिन्ता बढाएको छ। फिल्म लिक भएपछि सामाजिक सञ्जालमा फ्यानहरूले कडा प्रतिक्रिया दिएका छन्। धेरैले फिल्मको सामग्री सेयर नगर्न अपिल गरेका छन् र निर्मातालाई दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्।
यो फिल्म यसअघि जनवरी ९ मा रिलिज हुने तयारी थियो। तर अहिले फिल्मको रिलिज अनिश्चित अवस्थामा छ। रिपोर्टहरूका अनुसार निर्माताहरू र केन्द्रीय फिल्म प्रमाणन बोर्डबीचको समस्याले फिल्मको रिलिज रोकिएको हो।
‘जन नायकन’ लाई विजयको सम्भावितः अन्तिम फिल्मका रूपमा हेरिएको छ। विजय पूर्ण राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। यस्तो अवस्थामा लिकको घटनाले फिल्मको व्यापारिक सफलतामा असर पार्न सक्ने आशंका गरिएको छ।
फिल्म निर्माण टिमले यसबारे आधिकारिक प्रतिक्रिया सार्वजनिक नगरे पनि उद्योग र फ्यानहरू दुवै पक्षबाट चासो र चिन्ता बढिरहेको छ। एच. विनोथद्वारा निर्देशित 'जन नायकन' मा विजयसहित पूजा हेगडे, बबी देओल, ममिता बैजु, गौतम वासुदेव मेनन, प्रकाश राज, नारायण र प्रियमणि पनि छन्।