पछिल्ला वर्षहरूमा फिल्मको बक्स अफिस कलेक्शनबारे चर्चा बढ्दो छ।
निर्माण कम्पनी, मिडिया र कलाकारहरूले समेत आफ्ना फिल्मका कमाइ सार्वजनिक गर्ने चलन बढ्दै गएको छ, जसले फिल्मसम्बन्धी बहसमा कलेक्शनलाई केन्द्रमा ल्याएको छ।
भारतमा मात्र नभएर नेपाली फिल्ममा समेत बक्स अफिसको चर्चा हुने गर्छ। तर केही कलाकारहरूले यस प्रवृत्तिको आलोचना पनि गर्ने गरेका छन्।
तेलुगु स्टार राम चरणले भने राम्रो व्यापारिक नतिजाले कलाकारहरूलाई आगामी फिल्ममा अझ बढी प्रयोग (एक्सपेरिमेन्ट) गर्ने अवसर दिने बताएका छन्।
आफ्नो बहुप्रतिक्षित फिल्म 'पेड्डी' लाई लिएर चर्चा भइरहँदा उनले बक्स अफिस कलेक्शनको महत्वबारे आफ्नो कुरा राखेका हुन्।
भारतीय संचारमाध्यमसँगको कुराकानीमा उनले भनेका छन्, 'राम्रो बक्स अफिस अर्को फिल्मसँग सम्बन्धित हुन्छ। यसले तपाईंलाई बढी प्रयोग गर्ने अवसर दिन्छ। त्यसैले बक्स अफिस नम्बर महत्वपूर्ण छन्, तर यो मात्र सबै कुरा होइन।'
केही कलाकारहरूले भने बक्स अफिस कलेक्शनबारे चर्चा गर्ने प्रवृत्तिको आलोचना गर्ने गरेका छन्। गत वर्ष अभिनेता मनोज बाजपेयीले बक्स अफिसलाई ‘निर्माताहरूले आफैं सिर्जना गरेको राक्षस’ भन्दै यसले अन्ततः उद्योगलाई नै नोक्सान पुर्याउने टिप्पणी गरेका थिए।
फिल्म ‘पेड्डी’ मा रामचरण सहित जान्हवी कपूर, बोमन इरानी र दिव्येन्दु मुख्य भूमिकामा छन्। बुची बाबु साना निर्देशित फिल्मको ट्रेलर र गीतहरूले दर्शकमाझ राम्रो चर्चा कमाएका छन्।
यो फिल्म राम चरण र जान्हवी कपूरको पहिलो सहकार्य हो, जसलाई लिएर राम चरणका पिता चिरञ्जीवी र जान्हवीकी आमा श्रीदेवीको चर्चित जोडीसँग तुलना पनि भइरहेको छ।
यसअघि राम चरण शंकर निर्देशित फिल्म 'गेम चेन्जर' मा देखिएका थिए, जसमा कियारा आडवाणी पनि मुख्य भूमिकामा थिइन्। यो फिल्मले बक्स अफिसमा कमजोर नतिजा दिएको थियो।
'पेड्डी' जुन ४ (जेठ २१) देखि विश्वव्यापी प्रदर्शनमा आउने तयारी छ।