भारतीय फिल्म 'टक्सिकः अ फेरी टेल फर ग्रोन-अप्स' को अन्ततः नयाँ रिलिज मिति घोषणा गरिएको छ।
भारतीय फिल्म उद्योगको यस वर्षको सबभन्दा ठूलो प्रोजेक्टमध्ये एक मानिएको 'टक्सिक' अगस्ट २६, २०२६ (भदौ १२) मा विश्वभर एकसाथ प्रदर्शन हुने भएको हो।
दक्षिण भारतीय स्टार यश अभिनीत यो फिल्म यसअघि २०२६ को जुन महिनामा रिलिज हुने भनिएको थियो। फिल्मका मुख्य अभिनेता यशले सामाजिक सञ्जालमार्फत नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्।
पोस्टरमा उनी दोहोरो भूमिकामा देखिएका छन्। गीतु मोहनदासको निर्देशनमा बनेको यो फिल्म बाबुछोरा बीचको बदला केन्द्रित कथामा आधारित रहेको बताइएको छ। फिल्ममा यशले बाबु र छोरा दुवै पात्र निर्वाह गरेका छन्।
फिल्ममा यशसँगै नयनतारा, कियारा आडवाणी, रूक्मिणी वसन्त, हुमा कुरैशी र तारा सुतारिया मुख्य भूमिकामा देखिनेछन्। यो फिल्म कन्नड र अंग्रेजी भाषामा एकसाथ छायांकन गरिएको हो। पछि हिन्दी, तमिल, तेलुगु, मलयालमलगायत विभिन्न भाषामा डब गरेर रिलिज गरिने जनाइएको छ।
भारतीय प्रतीक्षित फिल्म 'टक्सिक' भदौमा विश्वभर रिलिज हुने भएपछि नेपाली फिल्म उद्योगको रिलिज क्यालेन्डरमा पनि असर पर्ने अनुमान गरिएको छ।
भदौ महिनामा यसअघि नै थुप्रै नेपाली फिल्महरूले प्रदर्शन मिति तोकिसकेका छन्।
