अभिनेता रणवीर सिंह फिल्म 'धुरन्धर' को ठूलो सफलतापछि भारतका सबभन्दा महँगा स्टार बनेको दाबी गरिएको छ।
हिन्तुस्तान टाइम्सको रिपोर्ट अनुसार रणवीरले यस फिल्मका दुई भागबाट कुल ३२५ करोड भारू कमाएका छन्।
रिपोर्ट अनुसार उनले नियमित पारिश्रमिक छोडेर निर्मातासँग नाफा बाँडफाँडको सम्झौता गरेका थिए। फिल्मको बजेट बढेपछि रणवीरले व्यक्तिगत लगानी पनि गरेको बताइएको छ।
'धुरन्धर' का दुई भागले विश्वभर करिब ३१०० करोड भारू ग्रस कलेक्सन गरेको र भारतमा मात्र १९०० करोड भारूभन्दा बढी नेट कमाएको दाबी छ।
यस आम्दानीपछि रणवीरले थिएट्रिकल, डिजिटल, स्याटेलाइट र म्युजिक राइट्सबाट ठूलो हिस्सा हिस्सा स्वरूप ३२५ करोड भारू हाराहारी पाएको दाबी गरिएको हो। यद्यपि आधिकारिक पुष्टि भएको छैन।
यसअघि सबभन्दा बढी कमाउने स्टारको रेकर्ड रजनीकान्तसँग थियो। उनले फिल्म 'जेलर' बाट करिब २५० करोड भारू कमाएको बताइएको थियो। शाहरूख खान, अल्लू अर्जुन र प्रभासले पनि २०० करोडभन्दा बढी पारिश्रमिक/कमाइ गरेको चर्चा थियो। अब रणवीर सिंहले ३२५ करोड भारूको दाबीका साथ त्यो रेकर्ड तोडेको बताइएको छ।
भारतीय फिल्म उद्योगमा स्टारहरूको पारिश्रमिक पछिल्ला दशकहरूमा तीव्र रूपमा बढेको देखिन्छ। ९० को दशकमा चिरञ्जीवी, कमल हासन र श्रीदेवी पहिलो पटक एक फिल्मका लागि १ करोड भारूसम्म लिने स्टारहरू बनेका थिए।
पछि शाहरूख खान, सलमान खान र आमिर खानले यो स्तरलाई निकै माथि पुर्याए। पछिल्ला वर्षहरूमा यश र अल्लू अर्जुन जस्ता दक्षिण भारतीय स्टारहरू २०० करोड रूपैयाँसम्म शुल्क लिन थालेका छन्।
अब २०२६ मा रणवीर सिंहले ३२५ करोड भारू कमाइको दाबीका साथ भारतका सबभन्दा महँगा अभिनेता बनेको खबर सार्वजनिक भएको हो।