यश अभिनीत बहुप्रतीक्षित प्यान-इन्डिया फिल्म 'टक्सिकः अ फेरी टेल फर ग्रोन-अप्स'को नयाँ टिजर सार्वजनिक गरिएको छ।
'टक्सिक' का मुख्य महिला पात्रहरूको झलकसहित बुधबार 'लेडिज एन्ड लेडिज' शीर्षकमा टिजर सार्वजनिक गरिएको हो।
गीतु मोहनदासको निर्देशनमा बनेको यो पिरियड ग्याङ्स्टर ड्रामाको टिजरमा फिल्मका मुख्य अभिनेत्रीहरूको झलक देख्न सकिन्छ।
टिजरमा अभिनेत्री कियारा आडवाणी, तारा सुतारिया, नयनतारा, हुमा कुरैशी र रूक्मिणी वसन्त फरक-फरक अवतारमा प्रस्तुत छन्।
कियारा, तारा र हुमा ग्ल्यामर लुकमा देखिएका छन् भने नयनतारा र रूक्मिणीलाई एक्सनप्रधान भूमिकामा प्रस्तुत गरिएको छ। टिजरले कथाबारे धेरै खुलासा नगरे पनि महिला पात्रहरू कथाको केन्द्रमा रहने संकेत दिएको छ।
निर्माताले यसअघि नै फिल्म आगामी अगस्ट २६, २०२६ (भदौ १०) मा विश्वव्यापी प्रदर्शनमा आउने घोषणा गरिसकेका छन्।
चार वर्षपछि अभिनेता यशको ठूलो पर्दामा पुनरागमन हुने भएकाले पनि फिल्मप्रति दर्शकमाझ उच्च अपेक्षा छ।
'टक्सिक'लाई केभीएन प्रोडक्सन्स र यशको मोन्स्टर माइन्ड क्रिएशन्सले संयुक्त रूपमा निर्माण गरेका हुन्। फिल्ममा यश दोहोरो भूमिकामा छन्।
फिल्म अनुमानित ८५० करोड देखि १,००० करोड भारूसम्मको बजेटमा निर्माण गरिएको बताइएको छ। जसले गर्दा यो अहिलेसम्म निर्माण भएका सबभन्दा महँगो भारतीय फिल्महरूमध्ये एक बनेको छ।
नेपालमा मल्टिप्लेक्स हलहरूले 'टक्सिक' लाई 'कमिङ सुन' सूचीमा राखिसकेका छन्।