दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुको फिल्म 'माँ इन्टि बंगाराम' ले १७ वर्ष पुरानो कीर्तिमान तोडेको छ।
यो तेलुगु फिल्मको इतिहासमै सर्वाधिक कमाइ गर्ने महिला-प्रधान फिल्म बनेको हो।
जुन १९ मा प्रदर्शनमा आएको यस फिल्मले विश्वभर ८३ करोड भारूभन्दा बढी कमाइ गरेको छ। भारतमा फिल्मले ५० करोड भारू नेट कमाइ गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
सामन्थाको निर्माण कम्पनी ट्रालाला मुभिङ पिक्चर्सले पनि फिल्मले नयाँ इतिहास रचेको दाबी गर्दै 'माँ इन्टि बंगाराम' तेलुगु फिल्मको सबभन्दा धेरै कमाइ गर्ने महिला प्रधान फिल्म बनेको जनाएको छ।
यसअघि यो कीर्तिमान सन् २००९ मा रिलिज फिल्म 'अरून्धती'को नाममा थियो। अनुष्का शेट्टी अभिनीत उक्त फिल्मले विश्वभर ७० करोड भारूभन्दा बढी कमाइ गरेको थियो। र, १७ वर्षसम्म यसको कीर्तिमान कायम रहेको थियो।
यद्यपि 'महानटी' र 'रूद्रमादेवी'ले पनि उच्च व्यापार गरेका थिए, ती फिल्ममा अन्य चर्चित कलाकारहरूको बलियो उपस्थिति भएकाले 'माँ इन्टि बंगाराम'लाई पूर्ण रूपमा महिला-केन्द्रित फिल्मको रूपमा नयाँ कीर्तिमान मानिएको छ।
बीभी नन्दिनी रेड्डी निर्देशित 'माँ इन्टि बंगाराम'मा सामन्थासँगै गुलशन देवैया, दिगन्त मन्चाले, श्रीमुखी, गौतमीलगायत कलाकारहरूको अभिनय छ। फिल्मले समीक्षक र दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।
यो फिल्म नेपालमा भने रिलिज भएको छैन।