दक्षिण भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजय अभिनीत फिल्म 'जन नायकन' लामो समयदेखि चर्चामा छ। यसको सेन्सर प्रक्रिया लामो समयदेखि रोकिँदा प्रदर्शनलाई लिएर अन्यौल थियो।
अन्ततः 'जन नायकन' केन्द्रीय फिल्म प्रमाणन बोर्डबाट १२ वटा संशोधनसहित 'ए' प्रमाणपत्र प्राप्त गर्दै सेन्सर पास भएको छ।
सीबीएफसीले फिल्मका केही राजनीतिक रूपमा संवेदनशील संवाद र दृश्य हटाउन वा परिमार्जन गर्न निर्देशन दिएको छ। भारतीय संचारमाध्यमका अनुसार भारतीय राष्ट्रिय झण्डा देखाइएको एक दृश्य हटाइएको छ भने 'अम्बेडकर सट्टम' शब्दलाई 'टीभीके सट्टम' मा परिवर्तन गरिएको छ।
केही अपशब्दलाई म्युट वा प्रतिस्थापन गरिएको छ भने हिंसात्मक दृश्यहरू पनि केही सेकेन्ड छोट्याइएको छ। टीभीके झण्डा देखिएका केही दृश्यसमेत हटाइएको बताइएको छ। यद्यपि, यी संशोधनका कारण फिल्मको कुल अवधि भने खासै प्रभावित नहुने जनाइएको छ।
सेन्सर प्रक्रिया पूरा भएसँगै निर्माण पक्षले केही दिनमै औपचारिक प्रदर्शन मिति घोषणा गर्ने अपेक्षा गरिएको छ। यसअघि क्यानडाका वितरक योर्क सिनेमाजले फिल्म जुलाई २४ मा प्रदर्शन हुने जनाएको थियो।
एच. विनोथको निर्देशनमा बनेको 'जन नायकन' विजयको अभिनय करिअरको अन्तिम फिल्मका रूपमा पनि चर्चामा छ। राजनीतिमा सक्रिय भइसकेका विजयका लागि यो फिल्म विशेष महत्वको मानिएको छ। विजय तमिलनाडुको मुख्यमन्त्री निर्वाचित भएको झन्डै दुई महिना भइसकेको छ।
एक्सन, ड्रामा र सामाजिक विषयवस्तु समेटिएको 'जन नायकन' विजयसँगै अन्य चर्चित कलाकारको पनि अभिनय छ।