अजय देवगन अभिनीत बलिउड कमेडी फिल्म 'धमाल ४' ले प्रदर्शनको दोस्रो दिन बक्स अफिसमा उल्लेखनीय उछाल देखाएको छ।
भारतीय बक्स अफिस ट्र्याकिङ वेबसाइट स्याक्निल्कको प्रारम्भिक अनुमानअनुसार फिल्मले शनिबार भारतमा करिब २२.५० करोड भारू कमाएको हो।
यसअघि फिल्मले पहिलो दिन १४ करोड भारूको ओपनिङ गरेको थियो। योसँगै फिल्मको दुई दिनको कुल भारतीय कमाइ ३६.५० करोड भारू पुगेको छ।
शनिबार पारिवारिक दर्शकको राम्रो साथ पाएपछि फिल्मको कमाइमा उल्लेखनीय वृद्धि देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्। यही लय कायम रहेमा पहिलो सप्ताहन्तमै ५० करोड भारूभन्दा बढी कमाउने अपेक्षा गरिएको छ।
इन्द्र कुमारको निर्देशन रहेको 'धमाल ४' मा अजयसहित अरशद वारसी, रितेश देशमुख, जावेद जाफेरी, रवि किशन, सञ्जय मिश्रा, उपेन्द्र लिमये, अञ्जली आनन्द, सञ्जीदा शेख र ईशा गुप्तालगायत कलाकारहरूको अभिनय छ।
'धमाल ४' नेपालका सिनेमाघरहरूमा पनि शुक्रबारदेखि प्रदर्शन भइरहेको छ।