दक्षिण भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजय आफ्नो फिल्म 'जन नायकन'को रिलिज तयारीमा छन्। बहुप्रतीक्षित यो फिल्म जुलाई २४ (साउन ८) देखि प्रदर्शन तयारीमा छ।
यसैबीच विजयका छोरा जेसन सञ्जयको निर्देशकीय डेब्यु फिल्म ‘सिग्मा’को प्रदर्शन सर्न सक्ने सम्भावना देखिन्छ। यो फिल्म सुरुमा जुलाई ३१ (साउन १५)मा प्रदर्शन गर्ने योजना थियो, जुन 'जन नायकन' प्रदर्शन भएको ठीक एक सातापछि पर्थ्यो।
भारतीय संचारमाध्यमका अनुसार अब यो फिल्म अगस्टमा सार्ने तयारी छ। विजयको फिल्मलाई पर्याप्त प्रदर्शन अवसर दिन तथा बक्स अफिसमा बाबु-छोराबीच प्रतिस्पर्धा हुन नदिन निर्माण पक्षले प्रदर्शन मिति सार्ने निर्णय गरेको बताइएको छ। यद्यपि, यसबारे आधिकारिक घोषणा भने गरिएको छैन।
एच. विनोथद्वारा निर्देशित 'जन नायकन' मा विजयसँगै ममिता बैजु, पूजा हेगडे, बबी देओललगायत कलाकारहरूको अभिनय छ।
यस्तै, जेसन सञ्जय निर्देशित ‘सिग्मा’ मा सन्दीप किशन, फारिया अब्दुल्ला, राजु सुन्दरम, सम्पत राज, शिव पंडितलगायत कलाकारहरू मुख्य भूमिकामा छन्।
निर्माण पक्षले हालसम्म फिल्मको प्रचारलाई तीव्रता नदिएको र रिलिज मिति नजिकिँदासमेत सीमित अपडेट मात्रै सार्वजनिक गरेकाले यसको प्रदर्शन मिति सर्ने अड्कलबाजी अझ बलियो बनेको देखिन्छ। डबिङ सम्पन्न भएको जानकारी दिइए पनि नयाँ प्रचार अभियान सुरू गरिएको छैन।
'सिग्मा' हास्यप्रधान 'हाइस्ट इन्टरटे्नर' (खजाना खोजीमा आधारित) फिल्म हो। कथावस्तु ट्रेजर हन्टको वरिपरि घुम्ने बताइएको छ।