तमिल सुपरस्टार तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजय अभिनीत फिल्म 'जन नायकन' को प्रदर्शन मिति आधिकारिक रूपमा घोषणा गरिएको छ।
यो एक्सन फिल्म जुलाई २३ (साउन ७)देखि विश्वव्यापी प्रदर्शनमा आउने भएको हो।
निर्माण कम्पनी केभीएन प्रोडक्सन्सले बुधबार सामाजिक सञ्जालमार्फत नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। पोस्टरमा विजयलाई प्रहरीको पोसाकमा तरबार समातेको अवतारमा देखाइएको छ।
यसअघि केही विदेशी वितरकहरूले फिल्म जुलाई २४ मा प्रदर्शन हुने जानकारी दिएका थिए। तर आधिकारिक घोषणापछि विदेशमा पनि जुलाई २३ कै लागि अतिरिक्त शो थपिएको बताइएको छ।
'जन नायकन' विजय चुनावमा उम्मेदवार बनेको र तमिलनाडुको मुख्यमन्त्री बनेको महिनौंपछि अन्ततः प्रदर्शनमा आउन लागेको हो।
एच. विनोथ निर्देशित यो फिल्ममा विजयसँगै पूजा हेगडे, बबी देओल, ममिता बैजू, गौतम वासुदेव मेनन, प्रकाश राजलगायत कलाकारहरूको अभिनय छ। फिल्म सुरूमा पोंगल अवसरमा रिलिज गर्ने योजना भए पनि सेन्सर बोर्डको प्रमाणपत्र प्रक्रियामा ढिलाइ भएपछि प्रदर्शन स्थगित गरिएको थियो।
आवश्यक संशोधनपछि फिल्मले हाल ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ। 'जन नायकन' लाई विजयको अन्तिम फिल्मका रूपमा चर्चा गरिएको छ।
यसअघि यो फिल्म नेपालमा पनि प्रदर्शनमा आउने तयारी थियो। अहिले भने यो फिल्म मल्टिप्लेक्सहरूमा ‘कमिङ सुन’मा देखिँदैन।
