दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत प्रतीक्षित फिल्म 'फौजी' को प्रदर्शन मिति घोषणा गरिएको छ।
फिल्म आगामी डिसेम्बर ३, २०२६ (मंसिर १७) देखि विश्वव्यापी प्रदर्शनमा आउने भएको हो।
निर्माण कम्पनीले बिहीबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
माइथ्री मुभी मेकर्सको निर्माण तथा टी–सिरिज फिल्म्सको प्रस्तुतिमा बनेको ‘फौजी’ यस वर्षकै सबभन्दा प्रतीक्षित भारतीय फिल्ममध्ये एक मानिएको छ। घोषणा भएदेखि नै फिल्मले दर्शकमाझ ठूलो उत्सुकता सिर्जना गर्दै आएको छ।
सार्वजनिक पोस्टरमा प्रभास रगतले लतपत अवस्थामा चट्टानमाथि बन्दुक समातेर बसेका देखिन्छन्। उनको वरिपरि युद्धमा मारिएका सैनिकहरूको दृश्य देखाइएको छ।
'फौजी' लाई 'बाहुबली'पछि प्रभासको भव्य ऐतिहासिक (पिरियड) ड्रामा शैलीमा पुनरागमनका रूपमा हेरिएको छ। माइथ्री मुभी मेकर्सले यसलाई आफ्नो अहिलेसम्मकै सबभन्दा महत्वाकांक्षी प्रोजेक्ट भएको जनाएको छ।
फिल्मको निर्देशन हनु राघवपुडीले गरेका हुन्, जो 'सीता रामम्' जस्तो सफल फिल्मका निर्देशक हुन्। नवीन येर्नेनी, वाई. रविशंकर र भूषण कुमार निर्माता रहेका छन्।
