भारतीय अभिनेता इमरान हाश्मी अभिनीत फिल्म 'आवारापन २'ले विश्वव्यापी रूपमा १५३ करोड भारू कमाएको छ। प्रदर्शनको छैटौं दिनसम्म फिल्मले उक्त कमाइ गरेको हो।
योसँगै 'आवारापन २' इमरान मुख्य भूमिकामा रहेका फिल्ममध्ये उनको करिअरकै सर्वाधिक कमाउने फिल्म बनेको छ। फिल्म नेपालमा समेत प्रदर्शनरत छ।
'आवारापन २'ले भारतमा छैटौं दिनसम्म १०७.५० करोड भारू नेट कमाएको छ भने ग्रस कमाइ १२८ करोड भारू पुगेको छ। भारतीय संचारमाध्यमका अनुसार फिल्मले पहिलो तीन दिनमा ८१ करोडभन्दा बढी नेट कमाएको थियो।
सुरूवाती दिनमा राम्रो गति कायम राखे पनि बुधबार भने कमाइमा केही गिरावट आएको छ। मंगलबार ९.७५ करोड नेट कमाएको फिल्मले बुधबार ६.७५ करोड नेट कमाएको छ। त्यसका बाबजुद विदेशबाट २.६५ मिलियन अमेरिकी डलर कमाउँदै फिल्मको विश्वव्यापी ग्रस कमाइ १५३ करोड पुगेको हो।
यसअघि मुख्य भूमिकामा इमरानको सर्वाधिक कमाउने फिल्म 'बादशाहो' थियो। सन् २०१७ मा रिलिज भएको उक्त फिल्मले विश्वव्यापी १३० करोड भारू कमाएको थियो। 'राज ३'ले पनि करिब १०० करोड भारूको व्यापार गरेको थियो। 'आवारापन २'ले यी दुवै फिल्मको लाइफटाइम कमाइलाई पछाडि पारिसकेको छ।
यद्यपि, इमरानले अभिनय गरेका सबै फिल्ममध्ये भने 'आवारापन २' सर्वाधिक कमाउने फिल्म होइन। सलमान खान स्टारर 'टाइगर ३'को विश्वव्यापी कमाइ करिब ४७० करोड भारू थियो। उक्त फिल्म इमरान अभिनीत धेरै कमाउने भए पनि त्यसमा उनी मुख्य अभिनेताको भूमिकामा थिएनन्।
नितिन कक्करको निर्देशन तथा विशेष भट्टको निर्माण रहेको 'आवारापन २' मा इमरानसँगै शबाना आजमी, दिशा पटानी र सुविन्दर विक्कीको अभिनय छ। फिल्ममा इमरानले 'शिवम पण्डित'को चर्चित भूमिकालाई निरन्तरता दिएका छन्। उनको अभिनयको समेत यतिबेला प्रशंसा भइरहेको छ।
'आवारापन २' नेपालमा पनि एकसाथ रिलिज भएको थियो।