दक्षिण भारतीय अभिनेता यशको मुख्य भूमिका रहेको प्यान-इन्डिया फिल्म 'टक्सिक'को एड्भान्स बुकिङ आक्रामक देखिएको छ।
बुधबारदेखि प्रदर्शनमा आउने फिल्मले बुकिङ सुरू भएको ४८ घण्टामै भारतमा १८ करोड भारूभन्दा बढीको ग्रस कलेक्सन गरेको हो।
हिन्तुस्तान टाइम्सका अनुसार शुक्रबार बिहानदेखि सुरू भएको एड्भान्स बुकिङमा आइतबार बिहानसम्म सबै भाषाका गरी ४ लाख ७० हजारभन्दा बढी टिकट बिक्री भइसकेका छन्। तीमध्ये कन्नड भाषाको टिकट बिक्रीबाट मात्रै करिब १० करोड भारू ग्रस आम्दानी भएको जनाइएको छ।
फिल्मको हिन्दी संस्करणको बुकिङ पनि अपेक्षाभन्दा राम्रो देखिएको छ। आइतबार बिहान ८ बजेसम्म हिन्दी संस्करणले पहिलो दिनका लागि मात्रै ८ करोड भारूको एड्भान्स बुकिङ गरिसकेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
'टक्सिक'ले एड्भान्स बुकिङको गतिमा केही ठूला भारतीय फिल्मलाई समेत पछि पारेको छ। पहिलो २४ घण्टामा फिल्मका करिब २ लाख ५० हजार टिकट बिक्री भएका थिए। सोही अवधिमा शाहरूख खानको 'जवान'का करिब १ लाख ५० हजार, रणवीर सिंहको ‘धुरन्धर २’का १ लाख ३० हजार र रणवीर कपूरको 'एनिमल'का ५५ हजार टिकट बिक्री भएको तथ्यांक उद्धृत गरिएको छ।
'टक्सिक'को हिन्दी संस्करणले मात्रै पहिलो २४ घण्टामा ६० हजार टिकट बिक्री गर्दै 'एनिमल'को उक्त रेकर्डलाई समेत पछि पारेको छ।
गीतु मोहनदासको निर्देशनमा बनेको ‘टक्सिक’मा यशसँगै नयनतारा, कियारा आडवाणी, हुमा कुरैशी, रूक्मिणी वसन्त र तारा सुतारिया मुख्य भूमिकामा छन्। फिल्म अगस्ट २६ (भदौ १०)देखि विश्वभरका हलमा प्रदर्शन हुँदैछ। फिल्मलाई भारतमा केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्ड (सीबीएफसी) ले ‘ए’ प्रमाणपत्रसहित कुनै पनि दृश्य काट्न नलगाई प्रदर्शन अनुमति दिएको छ।
'टक्सिक' नेपालमा पनि एकसाथ प्रदर्शनमा आउने तयारीमा छ। यसले सिनेमा हलमा ठूलो संख्यामा शो पाएको छ भने बुकिङ पनि उच्च देखिएको छ।