दक्षिण भारतीय स्टार यश अभिनीत बहुप्रतीक्षित फिल्म 'टक्सिकः अ फेयरी टेल फर ग्रोन-अप्स' आजदेखि विश्वभर प्रदर्शनमा आएको छ।
फिल्म नेपालमा पनि बुधबारदेखि नै रिलिज भएको हो। यश 'केजीएफः च्याप्टर २'पछि झन्डै चार वर्षपछि फिल्ममा फर्किएकाले 'टक्सिक'लाई लिएर दर्शकमाझ विशेष चासो थियो।
'टक्सिक' लाई चर्चित मलयालम निर्देशक गीतु महोनदासले निर्देशन गरेकी हुन्। कथा तथा पटकथामा मोहनदाससँगै यशको सहकार्य छ।
फिल्ममा यश दोहोरो भूमिकामा छन्। साथमा कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी, तारा सुतारिया, रूक्मिणी वसन्तलगायत प्रमुख भूमिकामा छन्।
'टक्सिक' पिरियड ग्याङ्स्टर एक्सन ड्रामा हो। यसको कथा गोवाको पृष्ठभूमिकामा आधारित छ, जहाँ हिंसा, शक्ति संघर्ष, विश्वासघात, पारिवारिक सम्बन्ध र अपराधको संसारबीच मुख्य पात्रको यात्रा देखाइन्छ।
'केजीएफ' सिरिजमा 'रकी भाइ'को भूमिकाबाट विश्वभर ठूलो ख्याती कमाएका यशले 'टक्सिक'मा आफूलाई फरक शैलीमा प्रस्तुत गरेका छन्। फिल्मलाई ठूलो स्केलमा निर्माण गरिएको हो। केभीएन प्रोडक्सन्स र मोन्स्टर माइन्ड क्रियसन्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता भेन्कट के. नारायण र यश स्वयं रहेका छन्।
फिल्म कन्नड, हिन्दी, तमिल, तेलुगु, मलयालम र अंग्रेजीसहितका भाषामा रिलिज भएको छ। 'टक्सिक'को रनटाइम करिब ३ घण्टा १४ मिनेट छ। नेपालमा पनि फिल्म उच्च शोसहित प्रदर्शनमा आएको छ।