कन्नड स्टार यशको बहुप्रतीक्षित फिल्म 'टक्सिकः अ फेयरी टेल फर ग्रोन-अप्स' बुधबारदेखि विश्वव्यापी प्रदर्शनमा छ। नेपालका सिनेमा हलमा समेत फिल्म बुधबार नै रिलिज भएको थियो।
रिलिजअघि फिल्मलाई लिएर ठूलो चर्चा र प्रतीक्षा थियो। रिलिजपछि भने यसले मिश्रित प्रतिक्रिया पाइरहेको छ। मिश्रित प्रतिक्रियाका बाबदुत फिल्मले प्रदर्शनको दुई दिनमै विश्वव्यापी बक्स अफिसमा करिब १९० करोड भारू कमाइ गरेको छ।
फिल्मले पहिलो दिन भारतमा मात्रै १०१.१० करोड भारू नेट कमाउँदै शानदार सुरूआत गरेको थियो। दोस्रो दिन भने कमाइमा गिरावट देखिएको छ। बक्स अफिस ट्रयाकर स्याकनिल्कका अनुसार दोस्रो दिन फिल्मले भारतमा करिब ३७.६५ करोड भारू नेट कमाएको छ। यससँगै दुई दिनमा भारतमा फिल्मको नेट कमाइ १३८.७५ (ग्रस १६५.८५) करोड भारू पुगेको बताइएको छ।
विदेशबाट दोस्रो दिन ८ करोड भारू जोडिँदा फिल्मको दुई दिने विश्वव्यापी ग्रस कमाइ १९०.१० करोड भारू पुगेको टाइम्स अफ इन्डियाले लेखेको छ।
गीतु मोहनदासको निर्देशन रहेको 'टक्सिक'मा यशसँगै नयनतारा, कियारा आडवाणी, हुमा कुरैशी, तारा सुतारिया, रूक्मिणी वसन्तलगायत कलाकारहरूको अभिनय छ। यशले फिल्ममा रायाको मुख्य भूमिकासँगै अर्को महत्वपूर्ण पात्रको भूमिका पनि निर्वाह गरेका छन्।
दर्शकले यशको अभिनय, स्क्रिन प्रेजेन्स र एक्सनलाई प्रशंसा गरेका छन्। तर धेरै समीक्षकले फिल्मको रनटाइम, अत्याधिक हिंसा, कमजोर सम्पादन र कथाको गति मुख्य कमजोरी भएको बताएका छन्।
फिल्म करिब ३ घण्टा १५ मिनेट लामो छ। समीक्षकहरूका अनुसार यशको स्टारडम र भव्य एक्सनले फिल्मलाई आकर्षक बनाए पनि लामो समयसम्म चल्ने हिंसात्मक दृश्य र पटकथाले कतिपय दर्शकलाई अलमलमा पारेको छ।
'टक्सिक'ले बक्स अफिसमा निकै बलियो सुरूआत गरेको छ, तर दोस्रो दिनको गिरावट र मिश्रित प्रतिक्रियाले आगामी दिनको व्यापारलाई भने चासोको विषय बनाएको छ।
'टक्सिक' नेपालभरका सिनेमा हलमा प्रदर्शनरत छ।