यश स्टारर फिल्म 'टक्सिकः अ फेयरी टेल फर ग्रोन-अप्स'ले बक्स अफिसमा आक्रामक सुरूवात गरे पनि त्यसपछिका दिनमा भने कमाइ निरन्तर घट्दै गएको छ।
गीतु मोहनदासको निर्देशनमा बनेको यो फिल्मले पहिलो दिन सय करोड भारूभन्दा बढीको नेट ओपनिङ गरेको थियो। तर चौथो दिनसम्म आइपुग्दा फिल्मले २५ करोड भारूभन्दा कम कमाएको छ।
ट्रेड बेवसाइट स्याक्निल्कका अनुसार 'टक्सिक'ले प्रदर्शनको चौथो दिन शनिबार भारतमा अनुमानित २४.५० करोड भारू नेट कमाएको छ। यो अघिल्लो दिनको तुलनामा ९.९ प्रतिशत कम हो।
फिल्मले पहिलो दिन भारतमा १०१. १० करोड भारू नेट कमाएको थियो। दोस्रो दिन यसको कमाइ घटेर ३७.६५ करोडमा झर्यो। तेस्रो दिन २७.२० र चौथो दिन २४.५० करोड भारू नेट कमाइ गरेको छ। यससँगै चार दिनमा भारतमा फिल्मको कुल नेट कलेक्सन १९०.४५ करोड भारू पुगेको छ। भारतमा यसको ग्रस कमाइ भने २२७.५० करोड भारू पुगेको जनाइएको छ।
विश्वव्यापी बजारमा भने फिल्मले २५० करोड भारूको आँकडा पार गरेको छ। शनिबार विदेशमा करिब ४ करोड भारू ग्रस कमाएसँगै फिल्मको विदेशतर्फको कुल ग्रस कलेक्सन २७.२५ करोड भारू पुगेको छ। भारत र विदेशको कमाइ जोड्दा ‘टक्सिक’को विश्वव्यापी ग्रस कलेक्सन २५४.७५ करोड भारू पुगेको छ।
'टक्सिक' पिरियड ग्याङ्स्टर एक्सन-थ्रिलर फिल्म हो। फिल्ममा यश दोहोरो भूमिकामा देखिएका छन्।
यशसँगै कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी, तारा सुतारिया, रूक्मिणी वसन्तलगायत कलाकारहरूको फिल्ममा अभिनय गरेका छन्। फिल्म यश र निर्देशक गीतु मोहनदासको पहिलो सहकार्य हो।
नेपालमा समेत फिल्म एकसाथ रिलिज भएको हो।