भारतीय र्यापर बादशाह र पञ्जाबी अभिनेत्री इशा रिखीले वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका छन्। विवाह भएको करिब पाँच महिनामै उनीहरूले अलग हुने घोषणा गरेका हुन्।
बादशाह र इशाले आ-आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत एउटै वक्तव्य सार्वजनिक गर्दै आफूहरू अलग बाटोमा अघि बढ्ने निर्णय गरेको जानकारी दिएका छन्।
वक्तव्यमा बादशाहले भनेका छन्, 'म र इशा रिखीले आपसी सहमतिमा अलग हुने र आ–आफ्नो बाटोमा अघि बढ्ने निर्णय गरेका छौं। यो निर्णय आपसी सम्मानका साथ लिइएको हो। यस समयमा हाम्रो गोपनीयताको सम्मान गरिदिन सबैलाई अनुरोध गर्दछौं।'
उनीहरूले आफ्नो सम्बन्धबारे थप अड्कलबाजी वा अनुमान नगर्न पनि आग्रह गरेका छन्।
बादशाह र इशा रिखीले आफ्नो सम्बन्धलाई लामो समयसम्म सार्वजनिक चर्चाबाट टाढै राखेका थिए। उनीहरूको विवाह पनि निकै निजी रूपमा भएको थियो। विवाहअघि उनीहरू करिब चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको थियो। विवाहको केही महिनामै दुवैले अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।
यद्यपि, उनीहरूले सम्बन्ध अन्त्य गर्नुको कारण भने खुलाएका छैनन्।