बलिउड अभिनेता सोनु सूद बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगेका छन्।
नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले मंगलबार दिउँसो काठमाडौं आएका उनी बुधबार नुवाकोट पुगेका हुन्।
सूद मुम्बईबाट आएको राहत टोलीसहित नुवाकोट पुगेका हुन्। उनले बाढीबाट प्रभावित स्थानीयसँग भेटघाट गर्दै उनीहरूको अवस्था र आवश्यकताबारे जानकारी लिएका छन्।
यसअघि काठमाडौं आइपुगेपछि सूदले काठमाडौंस्थित एक गुम्बामा आश्रय लिइरहेका बाढी प्रभावित तथा बालबालिकासँग पनि भेटघाट गरेका थिए। त्यसको भिडिओ उनले सामाजिक सञ्जालमा समेत साझा गरेका छन्।
नेपालमा बाढीको विपत्ति आएको खबर सार्वजनिक भएलगत्तै सूदले सामाजिक सञ्जालमार्फत नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए। 'नेपाल, तिमी एक्लो छैनौ' भन्दै उनले प्रभावितका लागि खाना, आश्रय र पुनर्निर्माणमा सहयोग गर्ने बताएका थिए।
नेपाल आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो टोलीले भारतबाट आवश्यक राहत सामग्री लिएर आएको र आगामी महिनाहरूमा पनि प्रभावित समुदायलाई सहयोग जारी राख्ने बताएका थिए।
उनको 'सूद च्यारिटी फाउन्डेसन' टिमले यसअघि नै करिब २ हजार कम्बल, लत्ताकपडा, सुक्खा खाद्यान्न तथा महिला स्वास्थ्य सामग्री नेपाल पठाइसकेको जनाइएको छ।