बलिउड अभिनेता सोनु सूद बाढी प्रभावितको अवस्था बुझ्न नुवाकोट पुगेका छन्।
मंगलबार दिउँसो काठमाडौं आइपुगेका उनी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा पीडितसँग भेटघाटका लागि बुधबार नुवाकोट पुगेका हुन्।
नुवाकोट त्रिशूली पुगेपछि सोनुले त्यहाँको अवस्थाबारे सामाजिक सञ्जालमा लेखेका छन्। उनले बाढीले ठूलो क्षति पुर्याएको र कैयौं परिवारको जीवन नै बदलिएको उल्लेख गरेका छन्।
'आज म त्रिशूली नदीको किनारमा उभिएको छु। बाढीले यहाँ कल्पनै गर्न नसकिने क्षति छाडेर गएको छ। घरहरू भत्किएका छन्, परिवारहरू टुटेका छन् र धेरैको जीवन सदाका लागि बदलिएको छ,' उनले लेखेका छन्।
सोनुले नेपाल यस विपत्तिमा एक्लो नरहेको बताउँदै आफू नेपाली जनताको साथमा रहेको उल्लेख गरेका छन्।
'नेपाल एक्लो छैन। म यहाँका जनताको साथमा छु र आशा जगाउन, घरहरू पुनर्निर्माण गर्न तथा प्रभावित परिवारहरूलाई सहयोग गर्न आफूले सक्ने सबै काम गर्नेछु,' उनले लेखेका छन्।
यसअघि उनले सामाजिक सञ्जालमा बाढी प्रभावित बालबालिकासँग भेट गरेको भिडिओसमेत सार्वजनिक गरेका थिए। उनले प्रभावित परिवारलाई नयाँ सुरूआतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
सोनुले नुवाकोटमा विभिन्न राहत शिविरमा पुगेर प्रभावित परिवारसँग भेटघाट गर्नुका साथै उनीहरूको अवस्थाबारे जानकारी लिएका छन्। उनले खाद्यान्न, स्वास्थ्य उपचार र आश्रयलगायतका राहत तथा सहयोगमा आफ्नो तर्फबाट काम गर्ने बताएका छन्।
