सानो बजेटमा बनेको हिन्दी फिल्म 'हनुमान अंश' ले यतिबेला बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरिरहेको छ।
अगस्ट ७ मा सामान्य रूपमा प्रदर्शनमा आएको यो फिल्मले सुरूआतमा खासै राम्रो कमाइ गर्न सकेको थिएन। तर तेस्रो सातापछि फिल्मको कमाइमा अचानक उछाल आएको हो।
२ करोड भारूको बजेट बताइएको फिल्मले पहिलो दिन भारतमा जम्मा १० लाख भारू नेट कमाएको थियो। दोस्रो सातासम्म करिब २० स्क्रिनमा सीमित भएको फिल्मको प्रदर्शन चौथो सातासम्म आइपुग्दा १५ सयभन्दा बढी स्क्रिनमा पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्।
फिल्मले चौथो सप्ताहन्तमा मात्रै भारतमा २८ करोड भारू नेट कमाएको बताइएको छ। प्रदर्शनको २६ औं दिन मंगलबार पनि यसको कमाइ अघिल्लो दिनको तुलनामा ५४ प्रतिशतले बढ्दै ८ करोड ५० लाख भारू पुगेको छ। फिल्मले अहिलेसम्म भारतमा ५० करोड भारूभन्दा बढी नेट कमाइसकेको छ। यसको कमाइ १०० करोड भारू नजिक पुग्ने अपेक्षा गरिएको छ।
विशाल चतुर्वेदीको लेखन तथा निर्देशन रहेको फिल्ममा शोभिनव सत्या, विहान शेडगे, चन्दन के आनन्द, पूर्णिमा तिवारीलगायत कलाकारहरू छन्। फिल्मले लक्ष्मण दासको जीवन र उनी आध्यात्मिक गुरू नीम करोली बाबामा रूपान्तरण भएको कथालाई प्रस्तुत गर्छ।
रोचक कुरा के छ भने पछिल्लो समय ठूलो बजेटको फिल्म 'टक्सिक'सँग पनि 'हनुमान अंश'को बक्स अफिस कमाइको तुलना हुन थालेको छ।
मंगलबार 'हनुमान अंश'ले ८ करोड ५० लाख भारू नेट कमाउँदा यश स्टारर 'टक्सिक'को कमाइ ८ करोड २० लाख भारूमा सीमित रह्यो।
'टक्सिक' पाँच भाषामा १५ सयभन्दा बढी बढी स्क्रिनमा प्रदर्शन भइरहे पनि कमाइमा 'हनुमान अंश' अगाडि देखिएको हो।
यससँगै निकै कम बजेटमा बनेको फिल्मले ठूलो स्टार र ठूलो बजेटको फिल्मलाई दैनिक कमाइमा उछिन्नुलाई बक्स अफिसको अप्रत्याशित परिणामका रूपमा हेरिएको छ।
फिल्मको निर्माता रागिनी एस, नम्रता जी सिंह, अनुप्रिया ए नगर, विशाल चतुर्वेदी हुन्।