भारतीय फिल्म 'हनुमान अंश'ले यतिबेला बक्स अफिसमा चामत्कारिक कमाइ गरिरहेको छ।
ठूलो स्टार वा महँगो बजेटबिनाको फिल्मले भारतमा १ सय करोड भारूको आँकडा पार गरेको छ।
शुक्रबार करिब १० करोड र शनिबार १६.५० करोड भारू कमाएपछि फिल्म १०० करोडको नजिक पुगेको थियो। आइतबार बिहानका शोपछि यसले १०० करोडको आँकडा पार गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।
योसँगै फिल्मले कम बजेटमा ठूलो व्यावसायिक सफलता हासिल गर्ने हिन्दी फिल्मको सूचीमा आफूलाई उभ्याएको छ। यसको बजेट करिब २ करोड भारू बताइएको छ।
विशाल चतुर्वेदीको लेखन तथा निर्देशन रहेको फिल्म ३१ जुलाईमा रिलिज भएको थियो। सुरूमा यसको व्यापार निकै कमजोर रह्यो। भारतीय संचारमाध्यमहरूका अनुसार पहिलो दिन यसले करिब १० लाख भारू मात्रै कमाएको थियो। पहिलो दुई सातासम्म फिल्मको कुल कमाइ १.४८ करोड भारू आसपास थियो।
तर प्रदर्शनको १६ औं दिनदेखि फिल्मको व्यापारमा अचानक वृद्धि भयो। दर्शकबाट सकारात्मक प्रतिक्रिया बढ्दै गएपछि तेस्रो र चौथो सातामा फिल्मले उल्लेख्य कमाइ गर्यो। चौथो सातामा मात्रै फिल्मले करिब ६१ करोड भारू कमाएको दाबी गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार २ करोड भारू बजेट मान्दा 'हनुमान अंश' १०० करोड क्लबमा प्रवेश गर्ने सबभन्दा कम बजेटका हिन्दी फिल्ममध्ये एक बनेको छ। फिल्मले केही ठूला फिल्मको लाइफटाइम कलेक्सनलाई समेत उछिनेको दाबी गरिएको छ।
'हनुमान अंश' आध्यात्मिक गुरू नीम करोली बाबाको जीवनबाट प्रेरित रहेको बताइएको छ।
फिल्ममा शोभिनव सत्या, विहान शेडगे, चन्दन के आनन्द, पूर्णिमा तिवारी, अनिल रस्तोगीलगायत कलाकारहरूको अभिनय छ।
निर्मातामा रागिनी एस, नम्रता जी सिंह, अनुप्रिया ए नगर, विशाल चतुर्वेदी रहेका छन्।