दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत फिल्म 'जेलर २'ले बक्स अफिसमा बलियो सुरूआत गरेको छ। बिहीबारदेखि प्रदर्शनमा आएको फिल्मले दुई दिनमै विश्वव्यापी रूपमा २०९.१० करोड भारू कमाएको छ।
भारतीय बक्स अफिस ट्रयाकिङ वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले पहिलो दिन बिहीबार भारतमा ५९.७० करोड भारू नेट कलेक्सन गरेको थियो। दोस्रो दिन शुक्रबार ३५.६० करोड भारू कमाउँदै फिल्मको दुई दिनको भारतीय नेट कलेक्सन ९५.३० करोड भारू पुगेको छ।
पहिलो दिनको तुलनामा दोस्रो दिन फिल्मको व्यापार ४०.४ प्रतिशतले घटेको हो। यद्यपि, विश्वव्यापी कमाइका आधारमा फिल्मले दुई दिनमै २०० करोडको आँकडा पार गरेको छ।
स्याकनिल्कका अनुसार फिल्मले भारतमा दुई दिनमा ११२.१० करोड भारू ग्रस कलेक्सन गरेको छ। त्यस्तै, विदेशी बजारबाट ९७ करोड भारू कमाएको छ। यसरी फिल्मको विश्वव्यापी ग्रस कलेक्सन २०९.१० करोड भारू पुगेको हो।
फिल्मले तमिल भाषामा सबभन्दा बढी व्यापार गरेको छ। दुई दिनमा तमिल संस्करणबाट ६८.६० करोड भारू नेट कलेक्सन भएको छ। तेलुगु संस्करणले १९. ७५ करोड, हिन्दी संस्करणले ६.२५ करोड र कन्नड संस्करणले ७० लाख भारू कमाएका छन्।
फिल्मले सन् २०२६ मा सबभन्दा छिटो विश्वव्यापी २०० करोड भारू कमाउने तमिल फिल्मको उपलब्धिसमेत हासिल गरेको छ। यस वर्ष विश्वव्यापी २०० करोड क्लबमा प्रवेश गर्ने यो चौथो तमिल फिल्म हो।
नेल्सन दिलीपकुमार निर्देशित ‘जेलर २’लाई सन पिक्चर्सले निर्माण गरेको हो। फिल्ममा रजनीकान्तसँगै राम्या कृष्णन, मोहनलाल, विद्या बालन, ज्याकी श्राफ, मिथुन चक्रवर्ती, शिवराजकुमार लगायत कलाकारको अभिनय छ।
सन् २०२३ मा प्रदर्शन भएको सफल फिल्म ‘जेलर’को सिक्वेलका रूपमा 'जेलर २' निर्माण गरिएको हो।
'जेलर २' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शनरत छ।