दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाले अभिनेत्री रश्मिका मन्दानालाई बिहेको प्रस्ताव राख्दाको रोचक प्रसंग सार्वजनिक गरेका छन्।
इटालीमा प्रेम प्रस्ताव राख्ने योजना बनाए पनि आफूले चाहेजस्तो औंठी नभेटेपछि उदयपुरमा विवाह समारोहकै क्रममा प्रस्ताव राखेको उनले बताएका छन्।
भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार विजयले निर्देशक तथा निर्माता करण जोहरको टक शो 'कफी विथ करण–९' मा यसबारे खुलासा गरेका हुन्।
विजयले भने अनुसार यही साल फेब्रुअरीमा बिहे हुनुअघि उनीहरू डिसेम्बरमा इटाली गएका थिए।
त्यही बेला रश्मिकालाई बिहेको प्रस्ताव राख्ने उनको योजना थियो।
तर आफूले चाहेजस्तो औंठी नभेटेपछि उनले इटालीमा प्रस्ताव राख्न सकेनन्।
'म त्यस्तो रोमान्टिक हाउभाउ देखाइरहने व्यक्ति होइन। तर रश्मिकाले बिहे प्रस्तावको अनुभव नै नपाओस् भन्ने चाहन्नथेँ। इटालीमा प्रस्ताव राख्न चाहेको थिएँ, तर उपयुक्त औंठी भेटिनँ,' विजयले कार्यक्रममा भनेका थिए।
पछि उनले उदयपुरमा आयोजित बिहे समारोहको पहिलो दिन अर्थात् संगीतको रातमा रश्मिकालाई प्रस्ताव राखे।
संगीत समारोह सकिएपछि साथीहरूलाई बोलाएर उनीहरूकै उपस्थितिमा घुँडा टेकेर बिहेको प्रस्ताव राखेको विजयले सुनाएका छन्।
'म उनको त्यो विशेष क्षण खोस्न चाहन्नथेँ,' विजयको भनाइ उद्धृत गर्दै बलिउड हंगामाले लेखेको छ।
यसैबीच, कार्यक्रममा रश्मिकाले पनि बिहे प्रस्तावसँग जोडिएको अर्को रोचक कुरा सुनाएकी छन्। उनले विजयलाई एक वर्षसम्म बिहेका लागि आग्रह गरेको बताएकी छन्।
'मैले बिहेका लागि विजयलाई एक वर्षसम्म भनिरहेँ,' उनले भनेकी छन्।
कार्यक्रममा विजय र रश्मिकाले बिहे समारोहमा मोबाइल फोन प्रयोगमा कडाइ गर्नुको कारणबारे पनि बताएका छन्। उनीहरू विवाहलाई क्यामराअघि पोज दिनेभन्दा परिवार र नजिकका साथीहरूसँग रमाइलो गर्ने अवसर बनाउन चाहन्थे।
विजय र रश्मिकाले सन् २०२६ फेब्रुअरीमा भारतको राजस्थानस्थित उदयपुरमा बिहे गरेका थिए। उनीहरूको प्रेम सम्बन्धबारे लामो समयदेखि चर्चा हुँदै आए पनि दुवैले निजी जीवनका विषयमा सार्वजनिक रूपमा कमै बोलेका थिए।
बलिउड हंगामाका अनुसार विजय र रश्मिका सहभागी 'कफी विथ करण ९' को उक्त भाग अक्टोबर २१ मा जियोहटस्टारमा प्रसारण हुने कार्यक्रम छ।