दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत फिल्म 'जेलर २'ले विश्वव्यापी बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ।
अक्टोबर १५ देखि प्रदर्शनमा आएको फिल्मले सात दिनमै विश्वभर ५८२ करोड ४५ लाख भारू कमाएको हो।
भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले बुधबार भारतमा २८ करोड १५ लाख भारू नेट कमाइ गरेको छ। यो मंगलबारको तुलनामा करिब ४० प्रतिशत कम हो।
बक्स अफिस ट्रयाकिङ वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले मंगलबार भारतमा ४६ करोड ८० लाख भारू नेट कमाएको थियो।
सात दिनमा फिल्मको भारततर्फको कुल नेट कमाइ ३१७ करोड २० लाख भारू पुगेको छ। भारतबाहिरको व्यापारसमेत जोड्दा फिल्मको विश्वव्यापी ग्रस कमाइ ५८२ करोड ४५ लाख भारू पुगेको हो। यससँगै फिल्म ६०० करोडको आँकडा नजिक पुगेको छ।
बुधबारको कमाइमा तमिल संस्करणको योगदान सबभन्दा धेरै छ। तमिल संस्करणले १८ करोड ५० लाख, तेलुगुले ६ करोड, हिन्दीले ३ करोड र कन्नड संस्करणले ६५ लाख भारू नेट कमाएको जनाइएको छ।
पहिलो सातामै ठूलो रकम कमाए पनि बुधबार फिल्मको दैनिक व्यापारमा उल्लेखनीय गिरावट आएको हो।
नेल्सन दिलीपकुमार निर्देशित 'जेलर २' सन् २०२३ मा प्रदर्शन भएको सफल फिल्म 'जेलर'को सिक्वेल हो। फिल्ममा रजनीकान्तसँगै राम्या कृष्णन, मोहनलाल, शिव राजकुमारलगायत कलाकारको अभिनय छ।
यो फिल्म नेपालका सिनेमा हलमा समेत प्रदर्शनरत छ।