बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार भएको घटनापछि अभिनेता सलमान खानसहित अन्य कलाकारको सुरक्षामा सतर्कता बढाइएको छ।
सलमानको सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने अभिनेता अक्षय कुमारको घरमा बुलेटप्रुफ सिसा जडान गर्न लागिएको छ।
भारतीय संचारमाध्यम द टाइम्स अफ इन्डियाका अनुसार टाइगर श्राफसँग सम्बन्धित गोलीकाण्डपछि सलमानको बान्द्रास्थित निवास वरपर सुरक्षा व्यवस्था थप मजबुत बनाइएको हो। त्यस्तै, अक्षय कुमारको जुहुस्थित घरमा पनि सुरक्षा सावधानी बढाइएको छ।
सलमानको सुरक्षा थप कडा
सलमान खानलाई महाराष्ट्र सरकारले सन् २०२२ मै वाई प्लस श्रेणीको सुरक्षा उपलब्ध गराएको थियो।
पछिल्लो घटनापछि उनको सुरक्षामा थप सतर्कता अपनाइएको हो। सलमानको निवास वरपर प्रहरी निगरानी बढाइएको छ।
उनको सुरक्षालाई ध्यानमा राख्दै निवासमा रहेका सुरक्षा संरचनालाई थप मजबुत बनाउने काम भइरहेको समाचारमा उल्लेख छ।
अक्षयको घरमा बुलेटप्रुफ सिसा
त्यस्तै, टाइगर श्रफको घटनापछि अक्षय कुमारको घरमा पनि सुरक्षा व्यवस्था मजबुत पार्न थालिएको छ।
द टाइम्स अफ इन्डियाका अनुसार उनको जुहुस्थित निवासमा बुलेटप्रुफ सिसा जडान गर्ने काम भइरहेको छ।
यस घटनापछि बलिउडका चर्चित कलाकारको सुरक्षालाई लिएर चिन्ता बढेको छ। कलाकारका निवास आसपास सुरक्षा सतर्कता बढाउनुका साथै सम्भावित जोखिमलाई ध्यानमा राखेर निगरानीसमेत कडा पारिएको छ।
के हो टाइगर श्रफमाथिको घटना?
अक्टोबर १८ मा मुम्बईको जुहु क्षेत्रमा टाइगर श्रफको गाडीमा गोली प्रहार भएको थियो। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
द टाइम्स अफ इन्डियाको यसअघिको रिपोर्ट अनुसार घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूको संख्या १० पुगेको छ।
प्रहरीले घटनामा प्रयोग भएका हतियार र आक्रमणको योजनाबारे अनुसन्धान गरिरहेको उक्त समाचारमा उल्लेख छ।