बलिउड अभिनेता रणवीर कपुरले आफूले गलत बोलेको भएको भन्दै माफी मागेका छन्।
उनले मंगलबार एक कार्यक्रममा बोल्ने क्रममा 'सत्य र असल कामको सधैं अन्त्य हुनेछ' भनेका थिए। यसपछि उनी सामाजिक सञ्जालमा आलोचित भएका थिए।
भारतको कोलकातामा दसैं (भारतमा दशहरा) को अवसरमा आयोजित कार्यक्रममा बोल्दै रणवीरले भनेका थिए, 'दुष्टता/नराम्रो कुरा जति शक्तिशाली भए पनि अन्तिममा सत्य र असल कामकै अन्त्य हुनेछ।'
खासमा उनले 'अन्तिममा सत्य र असल कामकै जित हुन्छ' भन्न खोजेका थिए।
सो भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि उनको आलोचना भयो। विशेषगरी, आगामी फिल्म 'रामायण' मा रामको भूमिका निर्वाह गर्न लागेका अभिनेताले यस्तो अभिव्यक्ति दिएको भन्दै कतिपयले प्रश्न उठाएका थिए।
त्यसको भोलिपल्ट, बुधबार रणवीरले यसबारे स्पष्टीकरण दिँदै माफी मागेका छन्।
द इन्डियन एक्सप्रेसका अनुसार उनले चेन्नईमा आयोजित 'रामायण' को सांगीतिक कार्यक्रममा माफी मागेका हुन्।
'म हिजो दसैंको कार्यक्रममा भएको एउटा घटनाका लागि माफी माग्न चाहन्छु। बोल्ने क्रममा मेरो जिब्रो चिप्लिएको थियो,' उनले भनेका छन्, 'मैले भन्न खोजेको थियो— दुष्टता जति शक्तिशाली भए पनि अन्तिममा सत्य र असल कामकै जित हुन्छ।'
रणवीरले आफ्नो अभिव्यक्तिमा गल्ती भएको स्वीकार गर्दै गायक एआर रहमानसँगको सहकार्य र आफू अभिनीत फिल्म 'रकस्टार' को एउटा गीतको पंक्ति पनि सम्झिए।
उनले भने, 'जो भी मैं कहना चाहूँ, बर्बाद करे अल्फाज मेरे।'
त्यसपछि उनले फेरि माफी मागे।
सामाजिक सञ्जालमा उनको भनाइलाई लिएर आलोचना भइरहँदा केही प्रशंसकले भने भीड र कार्यक्रमको दबाबमा शब्द चयनमा गल्ती भएको हुन सक्ने भन्दै उनको बचाउ गरेका छन्।
निर्देशक नितेश तिवारीको निर्देशनमा बनेको 'रामायण' मा रणवीरले रामको भूमिका निर्वाह गरेका छन्। फिल्ममा साई पल्लवी सीताको भूमिकामा र यश रावणको भूमिकामा देखिनेछन्।
फिल्मको पहिलो भाग नोभेम्बर ५ मा प्रदर्शन गर्ने तयारी छ।