फागुन २१ को निर्वाचन नजिकिँदा चुनावी गीतको बाढी देखिएको छ। युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमा यतिबेला चुनावी गीतहरू छ्यापछ्याप्ति छन्।
दैनिक नयाँ-नयाँ चुनावी गीत सार्वजनिक भइरहेका छन्। यस्तोमा नयाँ मनोरञ्जनात्मक गीत रिलिज भने ह्वात्तै घटेको छ। सांगीतिक क्षेत्रमा सक्रिय रहेकाहरू केही सातायता मनोरञ्जनात्मक गीतहरू न्यून संख्यामा मात्र रिलिज भएको बताउँछन्।
यतिबेला थुप्रैले आफ्ना तयार गीतहरू समेत 'होल्ड' गरेका छन्। कोरियोग्राफर तथा निर्देशक मौसम हिमाली आफ्ना तयार भएका थुप्रै गीतको रिलिज तत्काललाई रोकिएको बताउँछन्।
'६/७ वटा गीत तयार छन्। तर ती अब निर्वाचनपछि मात्रै रिलिज गर्ने भएका छौं,' उनी भन्छन्, 'केही छायांकन तयारीमा छन्। ती गीत पनि निर्वाचनपछि मात्रै सार्वजनिक हुनेछन्।'
राजनीतिक गतिविधि र प्रचारले सांगीतिक उत्पादनमा प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ छ। उनी भन्छन् 'अहिलेको समयमा दर्शकको ध्यान चुनावी सामाग्रीमा बढी हुन्छ। सोही कारण लगानीकर्ताहरू गीत रिलिज गर्न डराउनुभएको छ।'
संगीत संयोजक सुदीप सागरले फागुन लागेसँगै केही गीतमा काम गरे। तीमध्ये तीनवटा चुनावी गीत थिए। 'चुनावी गीत सार्वजनिक भइसके। काम सकिएका अन्य मनोरञ्जनात्मक गीत भने रिलिज भएका छैनन्,' उनी भन्छन्, 'ती अब चुनावसम्मलाई होल्ड गर्ने योजना छ।’
युट्युब मात्र होइन्, यतिबेला टिकटक र फेसबुकमा समेत चुनावी गीत र मेमहरू बढी छन्।