अमेरिकामा चिकित्सक पेशामा रहेका दम्पती सुरेश बस्नेत र रेहा पोखरेलले 'सधैं साथमा तिम्रो' को गीत सार्वजनिक गरेका छन्।
यो रोमान्टिक गीतमा सुरेशको एकल स्वर छ। गोविन पुनको शब्द तथा संगीतमा तयार भएको गीतको म्युजिक एरेन्जर दिनेश श्रेष्ठ हुन्।
'दुई मुटु, एक यात्रा' थिम राखेर तयार पारिएको गीतको भिडिओलाई अमेरिका, अष्ट्रेलिया र न्यूजिल्यान्ड गरी ३ देशका रमणीय स्थानमा खिचिएको बताइएको छ।
भिडिओमा सुरेश र रेहाले नै श्रीमान-श्रीमतीको भूमिकामा अभिनय गरेका छन्। गीत उनीहरूको वास्तविक प्रेम कथामा आधारित रहेको जनाइएको छ। विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशनमा तयार भएको यो भिडिओमा साहिल खानको सम्पादन, प्रविण श्रेष्ठको पटकथा छ।
भिडिओको छायांकन अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्यान्डमा यूरिका फिल्मस् प्रा.लि र अमेरिकामा पशुपति बस्याल लगायतले गरेका हुन्।
महँगो लागतमा तयार पारिएको भिडिओबारे सुरेश बस्नेतले भने, 'पैसाका लागि होइन, गीतसंगीतप्रतिको प्रेमले यो गीत दर्शकसमक्ष ल्याएका हौं।'
व्यस्त चिकित्सकीय पेशाका बाबजुद पनि उनीहरूले गीतसंगीतलाई निरन्तरता दिने बताएका छन्।