राष्ट्रिय सभाका सांसद डा. अन्जान शाक्यको म्युजिक भिडिओ ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक भएको छ।
‘रोज’, ‘बहार’, ‘श्रष्द्रापुष्प’, ‘अन्जानपथ’ जस्ता एकल एल्बमका साथै थुप्रै कलेक्सन एल्बममा समेत स्वर दिएकी शाल्यको यो पछिल्लो सांगीतिक प्रस्तुति हो।
गीतमा राजी किपूका शब्द रहेका छन् संगीत हरी सायमीले दिएका छन्। यो गीत स्ट्रिङ रेकर्डिङ स्टुडिओले उत्पादन गरेको हो।
करिब २३ वर्षअघि ‘शिरीष’ एल्बम सार्वजनिक गरेकी शाक्यले यसअघि ‘मेरो गीत भित्र’ म्युजिक भिडिओ पनि सार्वजनिक गरेकी थिइन्।
इजरालयलका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फर्किएपछि उनी पुनः गीत/संगितको क्षेत्रमा फर्र्किएकी छन्। पछिल्लो समय उनले लगातार सांगीतिक प्रस्तुति सार्वजनिक गर्दै आएकी छन्।
यसअघिको म्युजिक भिडिओमा अभिनेता सरोज खनाल र पूर्वमिस नेपाल उषा खड्गीको अभियनय तथा संगीत डाक्टर अन्जान र इञ्जिनियर सञ्जय शाक्यको रहेको थियो।
देवकुमार श्रेष्ठको निर्देशन रहेको उक्त गीतले दर्शक/स्रोताबाट राम्रो प्रतिक्रिया पाएपछि आफूले नयाँ गीत ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ ल्याएको उनले बताइन्।
नयाँ म्युजिक भिडिओमा पछिल्लो समय बढ्दो क्रममा रहेको एआई प्रविधिको प्रयोगलाई समेत प्रयोग गरिएको छ।
भिडिओमा बालापनदेखिको अवोध प्रेम ठूलो भएपछि सफलतामा परिणत भएको कथालाई देखाउन खोजिएको छ। गीतका शब्दहरूको भावले पनि त्यसैलाई प्रतिनिधित्व गरेका छन्।
गीतका शब्दहरूले बाल्यकालदेखिको प्रेमलाई प्रकाशको किरणझैं जीवनभर साथ रहोस् र जुनी–जुनीसम्म मधुमासझैँ फक्रिरहोस् भन्ने भाव व्यक्त गर्छन्। भिडियोमा एआई प्रयोग रावी शाक्यले गरेका हुन्।
गायिका शाक्यका अनुसार गीतको पोस्टर डिजाइनमा समेत एआई प्रविधिको उपयोग गरिएको छ।