चर्चित कलाकार जोडी प्रकाश सपुत र अञ्जली अधिकारी पुनः एकसाथ दर्शकमाझ आएका छन्। लोकदोहोरी गीत 'फूल जस्तै पँयालै' को भिडिओमा यी दुईले सहकार्य गरेका हुन्।
'बोलमाया', 'गलबन्दी', 'अरेली काँडैले' लगायतका थुप्रै हिट गीतमा सहकार्य गरेका प्रकाश र अञ्जली लामो समयपछि एकसाथ देखिएका हुन्।
यो डान्सिङ लोकदोहोरी गीत हो। गीतमा गायक खेम सेन्चुरी र गायिका रञ्जिता विश्वकर्माको स्वर छ भने शब्द विक्रमबाबु विश्वकर्माका हुन्। एचबीएन किस्मतको एरेन्ज रहेको गीतमा संगीत असिम चन्द्र विश्वकर्माले दिएका हुन्।
भिडिओमा प्रकाश र अञ्जलीसँगै एकिन्द्र सारा शंकरको समेत अभिनय देख्न सकिन्छ। भिडिओको निर्देशन तथा कोरियोग्राफीसमेत एकिन्द्र सारा शंकरले गरेका हुन्। छायांकन नवराज उप्रेतीको छ भने सम्पादन असिम चन्द्र विश्वकर्माको छ।
गीतको औपचारिक विमोचन लोकसञ्चारकर्मी नेपालको उपत्यका समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा गरिएको थियो। कार्यक्रममा खेम सेन्चुरी, रञ्जिता विश्वकर्मा, शिव हमाललगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
शुक्रबार सार्वजनिक 'फूल जस्तै पँयालै' गीत गायिका रञ्जिता विश्वकर्माको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ।
भिडिओः